जुम्लाबाट हेलिकप्टरमा उद्धार गरिएकी १८ वर्षीया सुत्केरीको मृत्यु

काठमाडौं । जुम्लामा सुत्केरीपश्चात् स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हवाई मार्गबाट उद्धार गरिएकी एक किशोरीको उपचारका क्रममा ज्यान गएको छ । तिला गाउँपालिका-३ की १८ वर्षीया अस्मिता नेपालीको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत पुर्‍याइएकी अस्मिताको गएराति १ बजे उपचारकै क्रममा निधन भएको प्रदेश अस्पतालले जनाएको छ । १८ वर्षकै कलिलो उमेरमा आमा बनेकी अस्मिताको स्वास्थ्यमा गम्भीर जटिलता देखिएपछि उनलाई जुम्लाबाट रेफर गरिएको थियो ।

पारिवारिक स्रोतका अनुसार सुरुमा उनलाई घरमै सुत्केरी गराउने प्रयास गरिएको थियो । लामो समयसम्म प्रसव व्यथा लागेर अवस्था संकटपूर्ण बनेपछि मात्र उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । प्रतिष्ठानमा चिकित्सकहरूले उनको शल्यक्रिया (सिजरियन सेक्सन) त गरे, तर स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेन ।

प्रतिष्ठानमा शल्यक्रियापश्चात् पनि आन्तरिक स्वास्थ्य जटिलता थपिँदै गएपछि उनलाई थप सुविधासम्पन्न अस्पताल लैजानु पर्ने अवस्था सिर्जना भएको थियो । सोही बमोजिम प्रदेश अस्पताल सुर्खेत पठाइए पनि उनलाई बचाउन नसकिएको अस्पताल प्रशासनले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =