इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान अब सीआईबीले गर्ने (भिडिओ)

काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोनजंग बुढथापा का अनुसार प्रहरी निरीक्षकको कमान्डमा रहेको ब्यूरोको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर आइपुग्ने तयारीमा छ ।
हामीले घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेका थियौं, भोलिदेखि टोलीले थप अनुसन्धान सुरु गर्छ,’ उनले भने ।

उनका अनुसार घटनाको पहिलो चरणको अनुसन्धान जिल्ला प्रहरी कार्यालयबाटै सम्पन्न भइसकेको छ । ‘घटनाको गम्भीरतालाई मध्यनजर गर्दै केन्द्रीय अनुसन्धान ब्यूरोको पनि सहयोग लिइएको हो,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाही का अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको छ । तर फरेन्सिक परीक्षणका लागि पठाइएका पीडित आरोपित पक्षका मोबाइल लगायत विद्युतीय सामग्रीको रिपोर्ट अझै आएको छैन ।

केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल बायोसेरोलोजिकल परीक्षणका लागि सामग्री पठाएका छौं,’ एसपी शाहीले भने, ‘ती रिपोर्ट आएपछि पोस्टमार्टम रिपोर्टसँग तुलना गरेर हत्याको अन्तिम निष्कर्षमा पुग्नेछौं ।’

प्रहरीले जिल्लाबाट छुट्टै अनुसन्धान टोली बनाएर काम गरिरहेको छ। साथै कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट आएको पोलिग्राफ टोलीले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ ।

प्रहरीका अनुसार पोलिग्राफ परीक्षणमार्फत शंकास्पद व्यक्तिले बोलेको सत्य वा असत्य पत्ता लगाउने प्रयास भइरहेको छ । घटनासम्बन्धी पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ नतिजा, कल डिटेल्स किशोर–किशोरीबीच भएका विद्युतीय संवादहरू पनि अनुसन्धानको दायरामा छन् ।

पीडित परिवारले अहिलेसम्म शव बुझेका छैनन् । परिवारको जाहेरीका आधारमा थप परीक्षणका लागि भेरी अस्पताल का फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्य को टोली प्रदेश अस्पताल सुर्खेत पुगेको थियो। सो टोलीले शव परीक्षण गरी प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनअनुसार जबरजस्ती करणीका क्रममा मृतकको संवेदनशील अंग च्यातिएको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ ।

गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा विकको फागुन २३ गते बिहान वीरेन्द्रनगर–स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका चारै जना १८ वर्षमुनिका रहेको डीएसपी बुढथापाले जानकारी दिए । सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो भने थप अनुसन्धानका क्रममा फागुन २४ गते अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 12 =