फागुन २८देखि मण्डला थिएटरमा ‘चरणदास चोर’
भारतीय रङ्गमञ्चका चर्चित नाटककार हबीब तनवीरद्वारा लिखित कालजयी नाटक ‘चरणदास चोर’ मण्डला थिएटर नेपालमा मञ्चन हुने भएको छ।

काठमाडौँ । भारतीय रङ्गमञ्चका चर्चित नाटककार हबीब तनवीरद्वारा लिखित कालजयी नाटक ‘चरणदास चोर’ मण्डला थिएटर नेपालमा मञ्चन हुने भएको छ। मण्डला थिएटर नेपालको थिएटर ल्याब १८औँ ब्याचका विद्यार्थीहरूको प्रस्तुति रहेको नाटक यही फागुन २८ गतेदेखि चैत्र ११ गतेसम्म नियमित रूपमा मञ्चन गरिनेछ।
सामाजिक व्यङ्ग्य, लोक–शैली र नैतिक प्रश्नहरूको गहिरो प्रस्तुति रहेको यस नाटकले दक्षिण एसियाली रङ्गमञ्चमा विशिष्ट पहिचान बनाएको मानिन्छ । नेपालमा यस कृतिलाई मण्डला थिएटर नेपालले विभिन्न चरणमा मञ्चन गर्दै आएको छ ।
नाटकको नेपाली संस्करण अशान्त शर्मा र राजन खतिवडाले अनुवाद गरेका हुन् भने प्रारम्भिक निर्देशन राजन खतिवडाले गरेका थिए । त्यसपछि विकास जोशीले नयाँ दृष्टिकोणसहित नाटकलाई प्रस्तुत गरेका थिए । हाल मण्डला थिएटर नेपालको थिएटर ल्याब १८औँ ब्याचका विद्यार्थीहरूलाई मिलन कार्कीले निर्देशन गर्दै नाटकको पुनर् पाठ गराइरहेका छन्।
नियमित प्रदर्शन मण्डला थिएटर नेपालमा हरेक दिन साँझ ५ः१५ बजे हुनेछ । शनिवारका दिन भने दिउँसो १ः१५ बजे र साँझ ५ः१५ बजे गरी दुई पटक प्रदर्शन गरिनेछ । सोमबार भने नाटक मञ्चन नहुने जनाइएको छ ।








