जनताको अपार माया छ, ७० प्रतिशतभन्दा बढी मतसहित मेरो जित सुनिश्चित छ : डा. सुनिल शर्मा (भिडिओ)

काठमाडौं ।  नेपाली काँग्रेसका नेता तथा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले यसपटकको निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । आम नागरिकको बलियो समर्थन आफ्नो पक्षमा रहेकाले ७० देखि ७५ प्रतिशतसम्म मत प्राप्त गरेर विजयी हुने लक्ष्य रहेको उनले बताएका हुन् ।

बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. शर्माले जनताको अपार माया र प्रगाढ स्नेहका कारण आफू परिणामप्रति ढुक्क रहेको उल्लेख गरे । उनले मत दिने अधिकार जनताको हातमा रहेको र आफू नै जितका लागि योग्य उम्मेदवार भएको जिकिर समेत गरे । विगतको निर्वाचनसँग तुलना गर्दै उनले भने, ‘विगत २०७९ सालमा गठबन्धन हुँदाको भन्दा अहिले जनस्तर र कार्यकर्तामा छुट्टै उत्साह देखिएको छ । अहिले गाउँ-गाउँबाट सामान्य नागरिकहरूको जुन प्रकारको स्वतःस्फूर्त समर्थन प्राप्त भएको छ, त्यो निकै लोभलाग्दो छ ।’

निर्वाचनमा हार-जित स्वाभाविक भए पनि आफूले पाएको जनलहरले दुई तिहाइ मत ल्याउने आधार तयार गरेको उनको भनाइ छ । उनले थपे, ‘जनताको प्रगाढ स्नेहले गर्दा हामी ७० देखि ७५ प्रतिशत मत ल्याउने लक्ष्यमा छौँ । जित त निश्चितै छ नि । भोट जनताले दिने हो र उम्मेदवार म हुँ, अनि कसले जित्छ त ? यहाँका सबै जनताले मलाई माया गर्नुभएको छ, त्यसैले जित सहज छ ।’

आफ्नो पक्षमा बलियो जनमत रहेकाले शुभचिन्तकहरूलाई परिणामलाई लिएर चिन्ता नगर्न समेत उनले आग्रह गरे । मोरङ ३ को विकास र जनताको सेवाका लागि आफू नै पहिलो रोजाइमा पर्ने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + sixteen =