पहाडी क्षेत्रमा आंशिक बादल, साताभरि पर्नेछैन पानी

काठमाडौँ । देशभर आगामी शनिवारसम्म मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मङ्गलवार मुलुकका केही पहाडी भू–भागमा आंशिक बदली देखिए पनि वर्षाको कुनै सम्भावना नरहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

उनकाअनुसार कोशी प्रदेशका ताप्लेजुङ र संखुवासभासहित गण्डकी प्रदेशको कास्की जिल्लाका एक–दुई स्थानमा भने छिटपुट वर्षाको सम्भावना रहेको छ । तर यी क्षेत्रका सबै भूभागमा वर्षा हुने अवस्था नरहेको उनले बताए । उनले मङ्गलवारको तुलनामा बुधवारको मौसम केही खुल्ने अनुमान गरिएको समेत बताए ।

बुधवार पनि मुलुकका केही पहाडी क्षेत्रमा हल्का बादल लागेपनि उल्लेखनीय मौसमी जोखिम नदेखिएको पौडेलको भनाइ छ । उनले गर्मीयाम सुरु हुँदै जाँदा दिउँसो तापक्रम बढ्ने र बेलुकातिर पहाडी क्षेत्रमा बादल विकसित भई छिटपुट वर्षा हुने मौसमी प्रवृत्ति देखिन सक्ने भएपनि यस साताभरि वर्षा तथा हिमपातको कुनै सम्भावना नरहेको बताए ।

उनले भने ‘शनिवारसम्मको मौसम सामान्यतः सफा नै छ । आज पहाडी भूभागमा केही बादल लागेको छ । त्यही पनि वर्षा भएको छैन । यद्धपी ताप्लेजुङ, सङ्खुवासभा, गण्डकी प्रदेशका कास्कीलगायत एकदुई स्थानमा चाही छिटपुट वर्षा हुनसक्ने देखिन्छ । एकदुई स्थानमा यस्तो सम्भावना देखिन्छ । जिल्लाभरि चाहिँ होइन । आजको मौसम यस्तै छ । आजभन्दा भोलि मौसम केही खुल्ने देखिन्छ । यद्यपि भोलि पनि मुलुकका केही पहाडी क्षेत्रमा बादल लाग्ने देखिन्छ । त्यसबाट तर्सिनुपर्ने त्यस्तो केही पनि छैन । पर्सिको मौसम झन् सफा नै छ । अबको बिस्तारै गर्मीयाम सुरु हुन थालेकाले दिउँसो तात्दै जाने र बेलुकातिर पहाडी क्षेत्रमा बादल देखिनुका साथै छिटपुट वर्षा हुने समय आउने हो । यद्धपी यो हप्ताभरिमा त्यस्तो खालको अवस्था छैन । तर बिहीबार र शनिवारको हकमा चाहिँ गण्डकी, बागमती र कोशी प्रदेशका एकदुई स्थानमा हल्का बादलहरू देखिन सक्छ ।’

उनले मौसमी गतिविधिको कारण मतदान प्रक्रियामा कुनै असर नपर्ने समेत स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =