आशिका तामाङको अपिलः ‘भ्रममा नपर्नुहोस्, म नेपाली नागरिक हुँ’

काठमाडौं । धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङले चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै मतदातासमक्ष अन्तिम अपिल गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत उनले ५३ वटै वडामा पुगेर मतदातासँग भेटघाट तथा संवाद गरेको उल्लेख गरेकी छन् । “आजबाट हाम्रो चुनावी घरदैलो कार्यक्रम अन्त्य भएको जानकारी गराउँछु । ५३ वटा वडा सबै गयौँ, तपाईँहरूको गुनासो लगभग सबै सुन्ने कोसिस गर्यौँ,” उनले लेखेकी छन् ।
घरदैलोका क्रममा समय अभावका कारण कुनै टोल वा बस्ती छुटेको हुन सक्ने उल्लेख गर्दै उनले त्यसका लागि क्षमायाचना पनि गरेकी छन् ।
मौन अवधिको सन्दर्भमा उनले फागुन २१ गतेको मतदानअघि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने जानकारी दिँदै मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरेकी छन् ।
विपक्षी दलले आफूविरुद्ध ‘विदेशी नागरिकता’ र ‘विदेशी पीआर’ सम्बन्धी भ्रम फैलाएको आरोप लगाउँदै तामाङले आफू पूर्ण रूपमा नेपाली नागरिक भएको स्पष्ट पारेकी छन् । “मसँग नेपालकै नागरिकता र नेपालकै पासपोर्ट छ । मेरो सास रहुञ्जेलसम्म म नेपाली नै भएर मर्नेछु । मसँग कुनै विदेशी पीआर पनि छैन,” उनले उल्लेख गरेकी छन् । आवश्यक परे कागजी प्रमाण प्रस्तुत गर्न तयार रहेकोसमेत उनले बताएकी छन् ।
उनले आफूलाई अत्यधिक मतले विजयी गराउन आग्रह गर्दै जित आफू एक्लैको नभई सम्पूर्ण धादिङ–१ बासीको हुने बताएकी छन् । “जिते भने तपाईँहरूको सांसद भएर काम गर्नेछु, हारे पनि समाजसेवीको रूपमा तपाईँहरूको आवाज सरकारसमक्ष सशक्त ढंगले उठाउनेछु,” उनले लेखेकी छन् ।








