मौन अवधिमा हुनसक्ने सामाजिक सञ्जालको दुरुपयोगमा आयोगको निगरानी

काठमाडौँ । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार अर्थात् आज राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार निषेध अर्थात् मौन अवधि सुरु हुँदै छ ।
मतदान अघिको ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको छ ।

निर्वाचन व्यवस्थापनका क्रममा यो अवधिको विशेष अर्थ र महत्त्व रहन्छ । यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ । कुनैपनि निर्वाचनमा उम्मेदवारी मनोनयन पछि औपचारिक रूपमा प्रचारप्रसार अवधि तोक्ने गरिन्छ । आयोगले ४ गतेदेखि १८ गते सम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । निर्वाचन आयोगका

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले दल तथा उम्मेदवारको दबाबबाट मुक्त भई मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरको निम्ति प्रचारप्रसार निषेध वा मौन अवधि तोकिने र यसले स्वच्छ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने बताए । निर्वाचन प्रचार अभियानलाई केवल विजयी हुने साधनका रूपमा मात्र नलिई आम मतदाताको मन जित्ने संस्कारयुक्त प्रक्रियामा परिणत गर्नुपर्ने मान्यताअनुसार मतदाताहरूले शान्त वातावरणमा बसेर उपयुक्त उम्मेदवार चयन गरुन् भन्ने मनसायमा विश्वव्यापी रूपमा नै मतदान अघिको केही समयलाई प्रचारप्रसार निषेध गर्ने प्रचलन रहेको उनले बताए ।

मौन अवधिका लागि तोकिएका आचरण अक्षरशः पालना गर्दा त्यसबाट राजनीतिक दल, उम्मेदवार एवं सरोकारवाला सबैबाट निर्वाचनको स्वच्छता र निष्ठा प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास आयोगले लिएको उनले स्पष्ट पारे । प्रचारप्रसार निषेध अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउन पनि सम्बन्धित दललाई निर्देश गरेको छ । यो अवधिमा राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृ सङ्गठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रचार प्रसार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनैपनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार सामग्री पोस्ट गरेको पाइए कारबाही हुने चेतावनी दिए ।

उनले भने ‘फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भइसकेको छन् । मतदान अधिकृतहरू पनि मतदान केन्द्र र स्थलमा गइसक्नुभएको छ । मतदानको प्रक्रियाका लागी आवश्यक सामग्रीहरू पनि सबै पुगिसकेका छन् । हरेक निर्वाचनको अगाडी संसारमा नै एउटा सैद्धान्तिक रूपमा के स्वीकार गरिएको छ भने निश्चित केही समय मौन रहनुपर्छ । निर्वाचन ऐन नियमले मौन भन्ने शब्द प्रयोग नगरेको हुनाले मैले शून्य समय भनेर शब्द चयन गर्ने गरेको छु । मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडीलाई हाम्रो मुलुकको कानुनले मौन अवधि तोकेको छ । त्यो समयमा चाहिँ शान्त, स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नको लागि मतदानको प्रक्रिया सुरु हुनुभन्दा अगाडी शान्ति छाओस् । त्यो शान्तिले मतदान प्रक्रियामा सहज बनाओस्, भनेर शान्तिको कामना गरिएको हुन्छ ।

आज १८ गते राती १२ बजेबाट मौन अवधि सुरु हुन्छ । यो मतदानको प्रक्रिया सुरु भएर सम्पन्न नभएसम्म कायम रहन्छ । मौन अवधि राख्नुपर्ने कारण के हो भने निर्वाचनमा दल, दलका उम्मेदवार, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तक जतिले प्रचारप्रसार गर्ने लगायतका काम जिम्मा लिनुभएको छ । त्यो सबै काम छोड्नुपर्छ र मौन धारण गरेर बस्नुपर्छ । उहाँहरूले कुनैपनि निर्वाचन प्रचारप्रसारको सामाग्रीहरू तुल, पोस्टरहरू राखेको छ भने त्यो पनि हटाइदिनुपर्छ ।

सामाजिक सञ्जालमा कुनै उम्मेदवारलाई समर्थन गर्ने, कुनै उम्मेदवारलाई मत माग्ने, कुनै उम्मेदवार चाहिँ ठिक छैन भनेर उसलाई तिरस्कार गर्ने लगायतका विषयवस्तु प्रकाशित गरिएको छ भने त्यो सबै हटाउनुपर्छ । अझ दल र दलका उम्मेदवारले आफ्ना मतदान स्थलको ३ सय मिटर वरिपरि निर्वाचन प्रसारप्रसारका सामग्री राख्नुभएको छ भने त्यसलाई हटाएर एकदम स्वच्छ र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न हुन्छ भन्ने सोच राखेर आफूले राखेका सामाग्री हटाउनुपर्ने हुन्छ । मौन अवधिमा झ्याल अथवा जस्केलाबाट हुने काम अझ बढी हुन्छ भन्ने कुरो विभिन्न ठाउँमा चर्चा परिचर्चा छ । त्यस्ता अनियमित काम गर्न जो उद्धत हुन्छन्, ती व्यक्तिहरू पहिचान गरेर यदि त्यस्तो काम भएको छ भने हामीलाई जानकारी दिनुस् भने आयोगले पटकपटक सरोकारवाला सबैमा आग्रह गर्दै आएको छ ।

यदि आयोगले त्यस्तो जानकारी पायो, कुनै कानुनले निषेध गरेको कुरा भयो र वस्तुगत प्रमाणले ठहर ग¥यो भने उहाँको मनोनयनपत्र खारेज गर्छौँ, विजयी, पराजयी जे भएपनि उहाँको उम्मेदवारी खारेज गर्छौँ र त्यो भन्दा पछाडि ६ वर्ष कुनैपनि चुनिने प्रक्रियामा उहाँ सहभागी हुन नपाउनेगरि हामी व्यवस्था गर्छौँ । त्यसैले सबै सरोकारवालाहरू जो उम्मेद्वारहरु मनोनयन दाखिल गरेर निर्वाचन प्रचारप्रसार गरेर मतदान प्रक्रियामा सहभागी हुनुहुन्छ, उहाँहरूले यस्तो काम गर्ने प्रयास गर्दै गर्नुहुन्न । गर्नुहुन्न भन्ने नै आयोग विश्वास गर्दछ ।

यदि त्यस्तो भयो भने त्यसमा शून्य सहनशीलता हुन्छ । सबै सरोकारवालाहरूले जहाँ, जस्तो जे पाउनुहुन्छ, सूचना निर्वाचन आयोगलाई दिनुस् । त्यस्ता विषयमा कारबाही गर्न निर्वाचन आयोग पछि हट्दैन । अब जहाँसम्म सामाजिक सञ्जालका पेचिला सवालहरू आए, हामी सुरुदेखि नै यसमा सचेत छौँ । कसैले सामाजिक सञ्जाललाई गलत ढङ्गले परिचालन गरेर आफ्नो निश्चित उद्देश्य पूरा गर्नको लागी सामाजिक सञ्जालमा प्रचारप्रसार गर्नुभएको छ भने त्यो हटाइदिनुस् भनेर हामीले पटकपटक आग्रह गरेका छौँ ।

मौन अवधिको समयमा झन् त्यस्ता सामाग्रीहरू प्रकाशन भयो भने त्यो स्रोतको खोजी गरेर,कहाँबाट त्यो प्रवाह भएको छ, त्यो स्रोतलाई नै कारबाही गर्ने हाम्रो लक्ष्य रहेको छ । कुनैपनि क्षेत्रबाट मौन अवधिमा सामाजिक सञ्जालमार्फत गलत क्रियाकलाप हुन्छ भन्नेकुरा आयोगले विश्वास गर्दैन । सबै सरोकारवालाहरू सचेत भएर पहिला सामाजिक सञ्जालमा सम्प्रेषण भएको समाचार सही हो की गलत हो त्यो छुट्ट्याइदिनुस् । गलत रहेछ भने त्यसको विश्वास नगर्नुस् ।

अन्तिममा उम्मेद्वाहरुले विभिन्न हल्लाहरू पनि चलाउन सक्छन्, शुभेच्छुक र शुभचिन्तकहरूले त्यस्ता सामग्रीहरूको दुरुपायेग पनि गर्न सक्छन् । यदि त्यस्तो दुरुपयोग भएको छ भने उम्मेदवार र सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पनि सजायको भागिदार हुनुपर्छ । सबैले अनुशासनको लयमा बसेर कार्यसम्पादन गरिदिनुस्, मौन अवधिलाई मौन नै बसेर स्वीकार गरिदिनुस् । स्वच्छ भएर, सोचेर मतदान कार्यमा सहभागी हुनुस् । मतदानको कार्य सम्पन्न भएपनि आयोगले जतिसक्दो छिटो मतपेटिका सङ्कलन गरेर मतगणना गरी नतिजा प्रकाशन गर्नेछ । मैले त मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन भइसक्छ भन्ने गरेको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 15 =