खाडी सहयोग परिषद् जीसीसीले भन्याे – इरानी कार्य ‘विश्वासघाती आक्रमण’

काठमाडौं । खाडी सहयोग परिषद् (GCC)ले सदस्य राष्ट्रहरूमाथि इरानले गरेको पछिल्लो मिसाइल तथा ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । आइतबार भिडियो कन्फरेन्समार्फत बसेको ५० औँ असाधारण मन्त्रिपरिषद् बैठकले इरानी कार्यलाई ‘विश्वासघाती आक्रमण’ भन्दै यसले क्षेत्रीय र वैश्विक सुरक्षामा गम्भीर खतरा पैदा गरेको ठहर गरेको हो ।
जीसीसीका वर्तमान अध्यक्ष तथा बहराइनका विदेशमन्त्री डा. अब्दुल लतिफ बिन रसिद अल जायनीको अध्यक्षतामा बसेको बैठकले खाडी मुलुकहरूको सुरक्षा अविभाज्य रहेको स्पष्ट पारेको छ ।
परिषद्ले ‘संयुक्त रक्षा सम्झौता’ स्मरण गराउँदै कुनै पनि एक सदस्य राष्ट्रमाथि हुने आक्रमण सम्पूर्ण जीसीसी राष्ट्रहरूमाथिको सिधा आक्रमण मानिने चेतावनी दिएको छ।
जीसीसीले विज्ञप्ति जारी गर्दै इरानले नागरिक पूर्वाधार र आवासीय क्षेत्रमा समेत निशाना बनाएको आरोप लगाएको छ । उसले इरानको कदमलाई अन्तर्राष्ट्रिय कानुन र सदस्य राष्ट्रहरूको सार्वभौमसत्ताविरुद्धको उल्लंघन भनेको छ ।
यद्यपि जीसीसीले संवाद र कूटनीतिक पहलको आवश्यकता औंल्याउँदै इरानलाई आक्रमण रोक्न आह्वान गरेको छ । साथै, क्षेत्रीय सुरक्षाको रक्षाका लागि आवश्यक सबै उपाय अपनाइने चेतावनी पनि दिएको छ।
फेब्रुअरी २८ देखि इरानले संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन, ओमान, कतार र कुवेतका नागरिक आवास, सेवा केन्द्र र पूर्वाधारहरूलाई लक्षित गरी सुरु गरेको आक्रमणबाट नागरिक क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ ।
जर्डनमाथि पनि इरानले आक्रमण गरेकोमा परिषद्ले आपत्ति जनाएको छ ।
खाडी मुलुकका वायु रक्षा प्रणालीले धेरै मिसाइल र ड्रोनहरू बीचमै नष्ट गरी ठूलो मानवीय क्षति हुनबाट जोगाएकोमा परिषद्ले सेनाको प्रशंसा गरेको छ ।
तनावका बाबजुद जीसीसीले ओमानको मध्यस्थता भूमिकाको प्रशंसा गर्दै संवाद र कूटनीति नै समस्या समाधानको एकमात्र बाटो भएको पुन: पुष्टि गरेको छ । बैठकले आक्रमणमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
बैठकमा साउदी अरब, युएई, ओमान, कतार र कुवेतका विदेशमन्त्रीहरूका साथै जीसीसीका महासचिव जसेम मोहम्मद अल्बुदैवीको सहभागिता रहेको थियो । जिसिसीमा यूएई, बहराइन, साउदी अरेबिया, ओमान, कतार र कुवेत सदस्य छन् ।








