ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैन : आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको बताएको छ । आयोगले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी लगायतले सहज मतदान गर्ने गरी व्यवस्थापन गरिएको जनाएको हो ।
आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले मतदान गर्नबाट कसैलाई पनि वञ्चित हुन नपर्ने गरी आयोगले सम्पूर्ण व्यवस्थापन गरेको जानकारी दिए । उनले भने, ‘हामीले केन्द्रदेखि जिल्लासम्म अनुगमनकर्ता अनुगमन अधिकृतको व्यवस्थापन गरेका छौँ । हामीले सूक्ष्म अनुगमनको पनि व्यवस्था गरेका छौँ । हामीले कुनै पनि मतदान केन्द्रमा सबैको सहज पहुँच पुग्नुपर्छ भन्ने कुरामा आयोग दृढ छ । सोअनुसार नै मतदान केन्द्र तथा मतदान स्थलको व्यवस्थापन गरेका छौँ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, सुत्केरी, यौनिक अल्पसङ्ख्यकहरू लाइनमा बस्नु पर्दैन । उनीहरूलाई तुरुन्तै मतदान गर्न पाउने गरी व्यवस्थापन गरिएको छ । आयोगले आम मतदातालाई सहज ढङ्गले मतदान गर्न पाउने गरी व्यवस्थापन गरिसकेको अवस्था छ ।’
आयुक्त तुलाधरले आम मतदातालाई सहज ढङ्गले मतदान गर्ने व्यवस्था मिलाउने सवालमा आयोगले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारे ।








