होलीले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् । होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, ‘होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेम भाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ्ग दलेर सद्भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।

रङ्गहरूको पर्वका रूपमा प्रत्येक वर्ष फागुपूर्णिमा (होली) पर्व देशभर वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिबिम्बित गर्ने पर्वका रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चिर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चिर दाह गरेपछि समापन हुन्छ ।

राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको र त्यही विविधताबिचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको पनि उल्लेख गरेका छन् ।

यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । फागुपूर्णिमा (होली) पर्व, २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, “होली पर्वले हाम्रो राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सामाजिक बन्धनलाई अझ सबल बनाओस्, प्रेम, मैत्रीभाव र सहकार्यको वातावरण सृजना गर्दै देशलाई प्रगति र समृद्धिको मार्गमा अघि बढाउने प्रेरणा प्रदान गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

रङ्ग र उमङ्गको प्रतीक यो पर्व हिमाल, पहाड र तराई–मधेसमा विभिन्न नामले मनाइए पनि यसको मूल भावनाले आपसी सद्भाव, भाइचारा र मेलमिलापलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले सत्यको विजय र असत्यको पराजयको सन्देश बोकेको होलीले समाजलाई प्रेम, सौहाद्र्र र सहयोगी भावनाले रङ्गीन बनाउने उल्लेख गरेका छन् ।

परम्परागत होरी (फागु) गीत, जोगिरा, डम्फा र ढोलकको तालमा गाइने लोकभाकाका साथै मालपुवा, दालपुरी, खिर जस्ता विशेष परिकारले हाम्रो संस्कृतिलाई जीवन्त राख्दै पुस्तान्तरणमा योगदान पुर्‍याउने उपराष्ट्रपति यादवको भनाइ छ ।

उनले भनेका छन्, “प्राकृतिक र वातावरणमैत्री रङ्ग प्रयोग गर्दै संस्कृतिलाई सुरक्षित राख्नु हाम्रो सामूहिक जिम्मेवारी हो, होलीले परिवार, मित्रता र समुदायबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पुराना मनमुटाबलाई बिर्सेर नयाँ उमङ्ग र ऊर्जासहित सम्बन्धलाई पुनः सुदृढ गर्ने अवसर प्रदान गर्दछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =