विनोद चौधरीको आत्मविश्वास: ‘निधार आरोप जनविश्वासले चिर्यो’

नवलपरासी । विनोद चौधरीले अघिल्लो निर्वाचनको परिस्थितिलाई स्मरण गर्दै आफूमाथि लगाइएका ‘निधार आरोप’ जनताको विश्वासले परिवर्तन गरिदिएको बताएका छन् ।
नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका चौधरीले बर्दघाट नगरपालिका–७ जिमिरेभारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै कठिन मोडमा समेत जनताकै साथका कारण आफू निर्वाचित भएको बताए । तत्कालीन समयमा आफूलाई विभिन्न संज्ञा दिइए पनि जनताले विश्वास गरेर घरदैलोमा पुर्याएको उनको भनाइ थियो ।
“म चटाइँमा बसेको छु, खटियामा बसेको छु, चोक–चौतारीमा बसेको छु। जस्तोसुकै परिस्थितिमा पनि म घुलमिल हुन सक्छु भन्ने मलाई लाग्छ । यी कुराका अघि प्राइभेट जेटले पनि महत्व राख्दैनन्, म अझै पनि भुईँमै त्यतिकै सन्तुष्टिका साथ बस्न सक्छु,” उनले भने । केही ‘विकृत मानसिकता’बाट प्रेरित आरोपहरू आफूले चिर्न सफल भएको उनले दाबी गरे ।
आफू सामुदायिक विद्यालयबाट विद्यार्थी जीवन सुरु गरेको स्मरण गर्दै उनले यहाँका नागरिकसँग घुलमिल हुन कुनै हीनताबोध नरहेको स्पष्ट पारे । यो क्षेत्रसँग जोडिँदा ठूलो जिम्मेवारी बोध भएको उल्लेख गर्दै उनले समग्र क्षेत्रको विकासलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
चौधरीले आफ्ना राम्रा कामहरूबाट राजनीति ओझेल पर्ने त्रासका कारण विभिन्न लाञ्छना लगाउने खेल सुरु भएको आरोप लगाए । त्यस्ता भ्रममा नपरी गगन थापाको नेतृत्वमा बदलिएको नेपाली कांग्रेसलाई मतदान गर्न उनले आग्रह गरे ।
उनले नवलपुरमा औद्योगिक ग्राम र शाश्वत धाम निर्माणमा आफ्नो भूमिका रहेको उल्लेख गर्दै अबको जिम्मेवारी पनि यही क्षेत्रको विकासमा केन्द्रित हुने बताए । “अझै धेरै काम गर्न बाँकी छ। विगतमा केही सीमाहरू रहे, अब अधुरा विकास निर्माणलाई अघि बढाउनु छ,” उनले भने ।
कार्यक्रममा कांग्रेसका जिल्ला सचिव कुलदीप आचार्यले विगतमा पार्टी एकजुट नभएको अवस्थाका कारण चौधरीको क्षमता र दक्षताको उचित सदुपयोग हुन नसकेको उल्लेख गर्दै यसपटक उनलाई विजयी गराई विकासको ढोका खोल्न आग्रह गरे । अहिले सिंगो पार्टी एकढिक्का भएर समृद्ध नवलपरासीको खाका बोकेर चुनावी मैदानमा उत्रिएको उनले बताए ।








