काठमाडौं-९ मा जसपा उम्मेदवारले कांग्रेसलाई सघाउने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ मा नयाँ राजनीतिक समीकरण बनेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उम्मेदवार बनेका रणवीर सिंह क्षेत्रीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेपाली कांग्रेसकी उम्मेदवार नानु बाँस्तोलालाई समर्थन गर्ने घोषणा गरेका छन् ।
आइतबार आयोजित एक कार्यक्रममा क्षेत्रीले कांग्रेस उम्मेदवार बाँस्तोलालाई सघाउने प्रतिबद्धता जनाएका हुन् । आफ्नो उम्मेदवारी त्याग गरी चुनावी अभियानमा साथ दिने निर्णय गरेपछि कांग्रेस उम्मेदवार बाँस्तोलाले क्षेत्रीलाई खादा ओढाएर सम्मान व्यक्त गरेकी थिइन् । निर्वाचनको मुखमा जसपाको यो साथले कांग्रेसलाई थप उत्साहित बनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि यस क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल २४ जना उम्मेदवारहरू चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन् । काठमाडौँ-९ मा ७८ हजार ४ सय ९५ मतदाता रहेका छन् । मतदान प्रक्रियालाई सहज बनाउन निर्वाचन आयोगले यस क्षेत्रमा ३४ वटा मतदान स्थल र ९० वटा मतदान केन्द्रको व्यवस्था गरेको छ ।
यसअघिको निर्वाचनमा जसपाका तर्फबाट उम्मेदवार बनेकी शर्मिला सुवाल (डंगोल) ले ७ सय ९२ मत प्राप्त गरेकी थिइन् भने समानुपातिकतर्फ यस पार्टीले ४ सय ७१ मत पाएको थियो ।










