पहिलो पटक ‘हरित निर्वाचन’को अवधारणाः डिजिटल माध्यमबाट प्रचारप्रसार

काठमाडौं । निर्वाचन आयोगले पर्यावरण संरक्षणका लागि यसपटक ‘हरित निर्वाचन’ को नीति अवलम्बन गरेको छ । जैविक रूपले नष्ट नहुने वा वातावरणमा हानि पुर्‍याउने कागज, प्लास्टिक, इन्धन जस्ता सामग्रीको न्यूनतम प्रयोग गर्दै दिगो र प्रदूषणमुक्त रूपमा सम्पन्न गरिने निर्वाचनलाई ‘हरित निर्वाचन’ भन्ने गरिन्छ ।

निर्वाचन प्रचारका लागि प्रयोग हुने सामग्रीहरू वातावरणमैत्री हुनुपर्छ भन्ने अवधारणा यसले बोकेको हुन्छ । सोहीअनुसार आयोगले कागजको प्रयोग कम गरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्न दलहरूलाई निर्देशन दिएको थियो । निर्वाचन आयोगले यसपटकको निर्वाचनमा पहिलो पटक ‘हरित निर्वाचन’ को अवधारणा अगाडि सारेको निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले बताए ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले पर्यावरण प्रदूषण कम गर्न र कागजको प्रयोग घटाउन डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने कुरालाई आयोगले आचारसंहितामा नै अनिवार्य गरेको बताए ।

उनले भने, ‘कागज कम प्रयोग गरौँ र डिजिटल माध्यमबाट प्रचारप्रसार गरौँ भन्ने हो । प्रदूषण कम गर्न आयोगले यसलाई आचारसंहितामा नै राखेको हो । त्यसैले यसपालिको निर्वाचनलाई हामीले हरित निर्वाचन पनि भनेका छौँ । राजनीतिक दलहरूले पनि चुनाव प्रचारप्रसारमा डिजिटल माध्यम नै बढी प्रयोग गरिरहेको हामीले पाएका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fifteen =