सरकारमा फर्किएपछि धिमाल सांस्कृतिक संग्रहालयलाई ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी घरदैलोका क्रममा धिमाल सांस्कृतिक संग्रहालयको लागि ३ करोड बजेट जुटाउँने बताएका छन् ।
संग्रहालय अवलोकन गर्दै उनले स्थानीय बासिन्दा र संग्रहालय व्यवस्थापन समितिसँग संग्रहालयको विकासका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
ओलीले आफू सरकारमा हुँदा संग्रहालयका लागि विनियोजन गरेको बजेट वर्तमान सरकारले कटौती गरेकोमा असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘म फेरि सरकार बनाएर आएपछि म यसलाई बजेट जुटाउनेछु । यस क्षेत्रको विकास गरिनेछ र यो संग्रहालयको विकास गरिनेछ । यो पार्टी भनेको विनाश गर्ने पार्टी होइन देश बनाउने पार्टी हो । त्यसकारण सबैको सल्लाह र सुझाव आवश्यक छ ।’
उनले धिमाल जातिको मौलिक संस्कृति संरक्षणमा संग्रहालयले खेल्ने भूमिका महत्त्वपूर्ण हुने बताउँदै यसको स्तरोन्नतिका लागि आफू सधैं तत्पर रहने बताए । –न्युज एजेन्सी नेपाल










