मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा र सरकारको तयारी सुनिश्चित होस्ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले अन्तर्राष्ट्रिय सम्बन्ध र भू–राजनीतिक सन्तुलनका दृष्टिले वर्तमान परिस्थितिलाई अत्यन्त संवेदनशील रहेको बताए । सबै पक्षलाई संयमता अपनाउन र समस्याको समाधान संवाद तथा कूटनीतिक माध्यमबाट खोज्न उनले अपिल गरेका छन् ।
उनले भने, “युएई, कतार, बहराइन लगायत खाडी मुलुकहरूमा सुरक्षा अवस्था थप संवेदनशील बन्ने जोखिम देखिएको छ । ती देशहरूमा लाखौं नेपाली कार्यरत हुनुहुन्छ, त्यसैले उनीहरूको जीवन, रोजगारी र सुरक्षामा गम्भीर चासो उत्पन्न भएको छ ।”
लामिछानेले सम्बन्धित देशस्थित नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा राख्न, आवश्यक परे तत्काल उद्धार र सुरक्षित आवागमन सुनिश्चित गर्न, आपतकालीन सम्पर्क संयन्त्र प्रभावकारी बनाउन र नेपालीको अवस्थाबारे तथ्यगत जानकारी नियमित रूपमा सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन् ।
साथै, नेपाली नागरिकको सुरक्षा सर्वोपरि दायित्व भएकाले कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत आकस्मिक अवस्थासँग जुझ्न सरकार पूर्ण रूपमा तयार रहोस् भन्नेमा पनि ध्यानाकर्षण गराएका छन् । इन्धन आपूर्ति प्रणालीमा सम्भावित अवरोधले जनजीवन र अर्थतन्त्रमा पार्ने प्रभावबारे समेत सचेत रहन उनले अनुरोध गरेका छन् ।










