जनकपुरमा बीबीसी डकुमेन्ट्री प्रदर्शन गर्दा रास्वपा कार्यकर्ता पक्राउ, दुई गाडी फरार

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरमा प्रदर्शन गरिरहेको अवस्थामा भारतीय नम्बर प्लेटको गाडीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्ता पक्राउ परेका छन् ।
धनुषा प्रहरीका अनुसार बी.आर ०१ जी ०१४६७ नम्बरको भारतीय गाडीमा प्रोजेक्टर जडान गरी जनकपुरको रेल्वे स्टेशन अगाडि डकुमेन्ट्री प्रसारण भइरहेको थियो । सोही क्रममा प्रहरीले रास्वपाका कार्यकर्ता विकास जयसवाललाई नियन्त्रणमा लिएको हो ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले घटनाको पुष्टि गर्दै अन्य दुई वटा गाडी फरार भएको जानकारी दिए ।
त्यस्तै, धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार फरार भएका गाडीहरू पनि प्रोजेक्टरसहित डकुमेन्ट्री प्रसारणका लागि ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








