एमाले कार्यकर्तालाई लिङदेनको अपिल- ‘मलाई भोट दिएर पछुताउनु पर्दैन’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आफ्नो पार्टी कुनैपनि शक्तिसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको स्पष्ट पारेका छन् ।

शनिबार झापा–३ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाले घोषित वा अघोषित रूपमा कुनैपनि दलसँग तालमेल नगरेको दाबी गरे र मतदाताहरूलाई पार्टीमाथि भरोसा गर्न आग्रह गरे ।

अध्यक्ष लिङदेनले विशेष गरी नेकपा एमाले का कार्यकर्ता र शुभचिन्तकहरूलाई स्मरण गराउँदै विगतका चुनावहरूमा एमालेका मतदाताले आफूलाई मतदान गरेर जित दिलाएकोमा कृतज्ञता व्यक्त गरे । उनले भने, ‘कुनै बेला एमाले भएर सूर्य चिन्हमा भोट दिएर पछुताउनु भएको होला, तर राप्रपा अध्यक्षलाई भोट दिएर पछुताउनु भएको छैन ।’

साथै उनले आफ्नो कार्यकालको समीक्षा गर्दै भ्रष्टाचार नगरेको र कुनैपनि प्रकारको पक्षपात नगरेको दाबी पनि गरे । उनले आफू कुनै जात, धर्म वा पक्षको मात्र नभई समग्र देशहितको पक्षमा संसद्मा उभिएको बताए ।

‘कुनैपनि पार्टीसँग राप्रपाले गठबन्धन गरेको छैन। घोषित वा अघोषित कुनै सम्झौता भएको छैन। राप्रपा एक्लै चुनावमा लडिरहेको छ,’ उनले स्पष्ट पारे । लिङदेनले मतदातालाई आफ्नो विवेक प्रयोग गरेर देशको भविष्यका लागि मतदान गर्न अपिल गर्दै देशमा शान्ति, स्थिरता र एकता कायम गर्न राप्रपा बलियो हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =