नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छ: वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुनले आगामी निर्वाचनपछि आफ्नो पार्टीको पहिलो राजनीतिक शक्ति बन्ने हैसियत रहेको बताएका छन् ।

शनिवार रोल्पाको लिवाङमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले सो दाबी गरेका हुन् ।

उनले मुलुकलाई नेतृत्व दिन सक्ने नेता र एजेण्डा आफ्नो पार्टीसँग मात्रै रहेको दाबी समेत गरे । रोल्पाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका पुनले मुलुकको राष्ट्रियता, समृद्धि र सबै खालका समस्याहरूलाई सम्बोधन गर्ने सामर्थ्य पनि आफ्नो पार्टीले मात्रै राख्ने जिकिर गरे । निर्वाचनपछि आफ्नो पार्टी मुलुकको निर्णायक शक्ति बन्ने र जेन–जीको सकारात्मक मागहरूलाई आफूहरूले सम्बोधन गर्ने आश्वासन समेत उनले बताए ।

उनले भने ‘हामी जनताको जनमतबाट जेन–जीका सकारात्मक माग, उनीहरूको भावनालाई सम्बोधन गर्छौँ । राष्ट्रियता, समृद्धि, सुशासनका एजेन्डाहरूलाई अघि बढाउने सामर्थ्य हामीसँग छ । त्यो नेतृत्व कमरेड प्रचण्डसहित हामीसँग छन् । र नेपाली कम्युनिष्ट पार्टी आजको राष्ट्रिय स्वाधीनता, समृद्धि र देशका सबै समस्याहरू सम्बोधन गर्न सामर्थ्य राख्छ । त्यसैले हामी आगामी निर्वाचनमार्फत देशको सबैभन्दा ठुलो पार्टी, निर्णायक पार्टी हुने हामी हैसियत राख्छौँ । त्यो एजेण्डा राख्छौ, त्यो नेतृत्व राख्छौँ ।’

नेता पुनले रोल्पामा आफ्नो पार्टीले सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै अव समृद्धिको नयाँ मोडेलको रूपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =