पूर्व संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरीलगायतले स्वागत गरेका थिए ।
नेपालको कम्युनिस्ट आन्दोलन तथा दलित आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका पहाडी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्षसमेत हुन् । लामो समयदेखि वाम राजनीतिमा क्रियाशील रहेका उनी पछिल्लो राजनीतिक घटनाक्रमबीच एमालेमा आबद्ध भएका हुन् ।
पार्टी प्रवेशपछि बोल्दै पहाडीले राष्ट्रिय स्वाभिमानको सवालमा एमालेले लिएको दृढ अडानका कारण आफूले एमालेसँग राजनीतिक यात्रा अघि बढाउने निर्णय गरेको बताए । उनले एमालेमाथि भइरहेको घेराबन्दी र आक्रमणलाई लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमणका रूपमा टिप्पणी गरे । “कुनै लोभ र लहडमा होइन, विचार र सिद्धान्तका आधारमा एमाले रोजेको हुँ,” पहाडीले भने ।
पहाडीसँगै नेकपाका रूपन्देही सदस्य सरोज गौतम र बुटवल नगर सदस्य जनक गौतम पनि एमाले प्रवेश गरेका छन् । एमालेले यस प्रवेशलाई संगठन विस्तार र विचारधारात्मक सुदृढीकरणका रूपमा लिएको जनाएको छ ।








