लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैन : आयुक्त डा. जानकी तुलाधर

काठमाडौं । संविधान र कानूनले निर्देशित गरेबमोजिम समावेशी निर्वाचन गराउन राजनीतिक दल, मतदान केन्द्र तथा आयोगमा लैङ्गिक सम्पर्क व्यक्ति तोकेको छ । आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले संविधान र कानूनले निर्देश गरेबमोजिम आयोग लैङ्गिक समावेशी निर्वाचन गराउन सदैव प्रतिबद्ध रहेको बताइन् ।
आयुक्त डा. तुलाधरले निर्वाचन आयोगले प्रत्येक राजनीतिक दललाई निर्वाचन सम्पर्क व्यक्तिका रूपमा महिलालाई नै पठाउन पनि अनुरोध गरेको स्पष्ट पारिन् । आयोगको पहलका कारण अहिले अधिकांश दलहरूमा महिला नै सम्पर्क व्यक्तिका रूपमा रहेको पनि उनीले बताइन् । ६ हजार ७ सय ४३ वटा मतदान केन्द्रमा सूचना सम्पर्क स्थापित गर्नेगरी आयोगले ७ सय ५३ वटै स्थानीय तहमा लैङ्गिक सम्पर्क व्यक्ति तोकेको डा. तुलाधरले बताइन् ।
उनीले भनिन्, ‘लैङ्गिक समावेशिताको कुरालाई सम्बोधन गर्दै आयोगले ६ हजार ७ सय ४३ वटै मतदान केन्द्रमा सूचना संप्रेषणका लागि ७ सय ५३ स्थानीय तहमा लैङ्गिक सम्पर्क व्यक्तिलाई राखेका छौँ । हामीले आयोगमा पनि लैङ्गिक सम्पर्क व्यक्ति राखेका छौँ । लैङ्गिक समावेशिताको दृष्टिले कहीँ कतै आयोग नचुकोस् भन्नका लागि हामी सचेत छौँ । राजनीतिक दलहरूलाई पनि लैङ्गिक सम्पर्क व्यक्ति राख्न भनेका छौँ । उहाँहरूले त्यहीअनुसार व्यवस्था पनि गर्नुभएको छ । हामीले यसअघि २०७९ को निर्वाचनमा पनि भएसम्म महिलालाई नै मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएका थियौँ । अहिले पनि हामीले महिला निर्वाचन अधिकृतहरूलाई परिचालन गर्ने सन्दर्भमा उच्च प्राथमिकता दिएका छौँ । यो एउटा महत्वपूर्ण उदाहरण हो । अर्को, यहाँले सुनिरहनुभएको पनि छ, मतदाता शिक्षाका लागि हामीले ६ हजार ७ सय ४३ वटै वडामा स्वयंसेविका महिलालाई नै परिचालन गरेका छौँ । त्यसैले लैङ्गिक समावेशिता पालना गर्ने कुरामा आयोग सदैव प्रतिबद्ध रहेको छ भन्ने विश्वस्त दिलाउन चाहन्छु ।’
उनीले मतदान केन्द्रहरूलाई पनि महिला तथा अपाङ्गता मैत्री बनाउने विषयमा आयोग सचेत र गम्भीर रहेको स्पष्ट पारिन् । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीन जना मुख्य निर्वाचन अधिकृत र १८ जना निर्वाचन अधिकृत गरी २१ जना महिला निर्वाचन अधिकृत खटिएका छन् ।








