कांग्रेसको चुनावी दौडधुप : सभापति थापा मधेसमा, विश्व पश्चिमका तीन जिल्ला पुग्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी प्रचारप्रसारका क्रममा शनिबार मधेस प्रदेशका चार जिल्ला पुग्ने भएका छन् । सचिवालयका अनुसार उनले सर्लाहीको लालबन्दीबाट सुरु गरेर रौतहट, बारा हुँदै पर्साको वीरगञ्जमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

मधेस दौडाहका क्रममा थापा रोड शोमा समेत सहभागी हुने सचिवालयले बताएको छ । मधेसका कार्यक्रम सकेर उनले आइतबार (फागुन १७ गते) काठमाडौँ उपत्यकामा आयोजना हुने चुनावी सभामा मन्तव्य राख्नेछन् ।

यसअघि फागुन ६ गते जनकपुरधामबाट पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका उनले ७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा उक्त पत्रबारे उठेका जिज्ञासाको जवाफ दिएका थिए । चुनावी अभियानकै क्रममा सभापति थापाले बिहीबार सुर्खेत र बाँके तथा शुक्रबार रुपन्देही, कपिलवस्तु, बागलुङ र कास्कीका सभामा सम्बोधन गरेका थिए ।

शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित सभामा उपसभापति पुष्पा भुसाल गौतम र पोखराको सभामा अर्का उपसभापति विश्वप्रकाश शर्माको पनि उपस्थिति रहेको थियो । शनिबारको मधेस कार्यक्रममा भने सभापति थापा एक्लै जानेछन् भने आइतबार काठमाडौँको कार्यक्रममा उनलाई उपसभापति शर्माले साथ दिनेछन् ।

यता, उपसभापति शर्माको पनि शनिबार तीन जिल्लाका चुनावी कार्यक्रममा सहभागी हुने व्यस्त कार्यतालिका छ । शुक्रबार पोखरामा बसेका उनी शनिबार गुल्मी, डोल्पा र अछामका विभिन्न स्थानमा पुग्नेछन् ।

शर्माको सचिवालयले दिएको जानकारीअनुसार उनी मध्याह्न १२ बजे गुल्मीको छत्रदेव र दिउँसो १ बजे डोल्पाको जुफालमा पुग्नेछन् । त्यसैगरी दिउँसो २ बजे अछामको साँफेबगर र सवा ३ (३:१५) बजे अछामकै कमलबजारका चुनावी सभालाई उनले सम्बोधन गर्नेछन् । कमलबजारको कार्यक्रम सकेर उनी आजै अपराह्न ४:२० बजे काठमाडौँ फर्किनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 4 =