डलरमा भएको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना हुने

काठमाडौँ । निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले विदेशी मुद्रा (डलर) मा गरेको खर्चलाई पनि निर्वाचन आयोगले नजिकबाट ट्रयाक गरिरहेको बताएको छ ।

शुक्रवार आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता भट्टराईले नेपाली रुपैयाँमा होस् वा डलरमा, उम्मेदवारले गरेको सम्पूर्ण खर्च निर्वाचन खर्चको तोकिएको सीमाभित्रै गणना हुने बताएका हुन् ।

यसका साथै, डलर खर्चको सन्दर्भमा वैदेशिक सटही सुविधासम्बन्धी प्रचलित कानुनहरू पनि आकर्षित हुने र सोहीअनुसार कारबाही अगाडि बढ्न सक्ने आयोगले जनाएको बताए ।

उनले भने ‘डलर खर्च गर्ने उम्मेदवारको लिस्ट निर्वाचन आयोगसँग छ कि छैन भन्नुभएको छ । निर्वाचन आयोगले त्यसको ट्रयाकिङ गरिराखेको छ । त्यसकारणले गर्दाखेरि त्यो उहाँहरूले गरेको चाहे नेपाली पैसामा खर्च गर्नुहोस् चाहे डलरमा खर्च गर्नुहोस् उहाँहरूको निर्वाचन खर्चको सीमाभित्र त्यो काउन्ट हुन्छ । यद्यपि डलरको सन्दर्भमा वैदेशिक सटही सुविधा सम्बन्धी कानुनहरूले पनि त्यो विषयलाई निर्देशित गर्छन् । त्यसकारणले ती तत्तद् प्रचलित कानुनहरू आकर्षित हुने विषयमा हुने नै छन् । निर्वाचन कानुनका हिसाबले हेर्दाखेरि यो विषय चाहे डलरमा खर्च गर्नुहोस् चाहे यो नेपाली रुपैयाँमा खर्च भएको होस् त्यो निर्वाचन खर्चको सीमाभित्र यो विषयहरू काउन्ट हुन्छन् र त्यसलाई निर्वाचन आयोगले ट्र्याक गरिराखेको छ ।’

निर्वाचनको समयमा लामो दूरीका सवारी साधनहरूको आवागमनलाई सहज बनाएको आयोगले जनाएको छ । आयोगले अघिल्लो दिन छुटेका सवारी साधनहरू भोलिपल्ट गन्तव्यमा पुग्दा कुनै अप्ठ्यारो नपर्ने गरी सहजीकरण गरिएको बताएको छ ।

उनले भने ‘लामो दूरीका सवारी साधनहरू कतै अप्ठ्यारोमा त पर्दैनन् अघिल्लो दिन छुटेका साधनहरू भोलिपल्ट पुग्दाखेरि भन्नुभएको छ । त्यो बिलकुल पर्दैनन् । हामीले निर्वाचन आयोगको आँखाबाट हेर्दाखेरि नेपाल सरकारलाई सिफारिस सहजीकरण गरिराखेका छौँ र उहाँहरूलाई अप्ठ्यारो नपरोस् भन्ने कुरामा हामी सचेत छौँ । तर यति भन्दै गर्दा सवारी साधनहरूले पनि यो निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गरेर छुट्ने समय र पुग्ने समयको बीचमा धेरै त्यो मिस म्याच नहुने गरी तोकिएको समयमा छुट्ने र तोकिएको समयमा पुग्ने गरी आवश्यक यसलाई यसको प्राथमिकतालाई ध्यानमा राख्नुहुन्छ भन्ने कुरामा हामी विश्वास गर्छौँ । त्यसका बाबजुद पनि व्यावहारिक रूपमा आउने अप्ठ्याराहरूलाई सम्बन्धित सुरक्षा निकायको तर्फबाट आवश्यक सहजीकरण हुनेछ र निर्वाचन आयोगले समेत त्यो विषयमा सहजकर्ताको भूमिका निर्वाह गर्नेछ ।’

यातायात व्यवसायीहरूलाई निर्वाचनको संवेदनशीलता बुझेर समय व्यवस्थापन गर्न आग्रह गरिएको प्रवक्ता भट्टराईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =