उज्यालो नेपाल पार्टीले भोली खुला मञ्चमा उज्यालो प्रतिबद्धता सभा गर्ने

काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले शनिवार काठमाडौँको खुला मञ्चमा उज्यालो प्रतिबद्धता सभा आयोजना गर्ने भएको छ ।
पार्टीले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनलक्षित प्रतिबद्धता सभा गर्न लागिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रचारप्रसार समितिका संयोजक तथा काठमाडौँ क्षेत्र नम्बर–५ का उम्मेदवार श्रीराम गुरुङले पार्टीका प्रतिवद्धताहरुलाई जनतालाई बुझाउनको लागि सभा गर्न लागिएको जानकारी दिए ।
सभामार्फत मुलुकको विकासको स्पष्ट रोडम्याप सार्वजनिक गरिने दाबी गरे । मुलुकलाई भाषण नभई परिणाम चाहिएको गुरुङको भनाइ छ । अध्यक्ष घिसिङको प्रमुख आतिथ्यमा हुने सभामा ऊर्जा विस्तार, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र राष्ट्रिय विकासका ठोस योजना सार्वजनिक गरिने गुरुङले जानकारी दिए ।
उनले भने ‘सङ्गठनात्मक रूपमा हामी थोरै कमजोर छौँ । धेरै ठुलो जनसमर्थन हुँदाहुँदै पनि हामी जनतासमक्ष पुग्न गाह्रो भइरहेको छ । त्यसैले हामीले भौतिक र डिजिटल कार्यक्रमको समेत आवश्यकता देखेर यो कार्यक्रमको आयोजना गरेका हौँ । यसमा हामीले सबैको सहयोगको अपेक्षा गरेका छौँ । हामीले स्वीकृति लिएर कार्यक्रम गर्न लागेका हौँ, कसैसँग प्रतिस्पर्धा गर्नको लागि होइन । हाम्रा प्रतिवद्धताहरुलाई हाम्रा कार्यकर्तासमक्ष पुर्याउनको लागि हामीले यो कार्यक्रम गर्न लागेका हौँ ।’
उनले सभामा उपस्थित भई पार्टीका प्रतिवद्धताहरु बुझ्न र अरूलाई समेत जानकारी दिई सहयोग गर्न अपिल गरे ।








