पुराना दलहरूले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलहरूले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको मेसिन बनाएको आरोप लगाएका छन् ।

शुक्रवार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

पुराना दलहरूमाथि राज्य संयन्त्र कब्जा गरी दोहन गरेको आरोप लगाउँदै वाग्लेले दलीय सिन्डिकेट अन्त्य नगरीकन मुलुकमा विद्यमान समस्या समाधान गर्न नसकिने जिकिर गरे । उनले विश्वविद्यालयहरू, अस्पताल, संघसंस्थादेखि राज्यका हरेक निकाय निकम्मा दलीय छायामा रहेको भन्दै उनले रास्वपा सबै प्रकारका दलीय हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले भने ‘दलीय संरचनालाई भातृ संगठनका नाममा राज्य दोहनको मेसिन बनाइयो । हाम्रा विश्वविद्यालयहरू कब्जा गरियो, अस्पताल कब्जा गरियो, सङ्घसंस्थाहरू कब्जा गरियो, राज्यको हरेक निकाय निकम्मा दलीय छायामा छ । आज म स्पष्ट भन्न चाहन्छु, अब यो लुटको खेती स्पष्ट रूपमा बन्द हुनेछ, हुनैपर्छ । दोहनको दलीय सिन्डिकेट अब खारेज हुनैपर्छ । नझुक्किनुहोला पुराना दलहरू फेरी त्यही संरचना बोकेर तपाईँहरूसामु आएका छन् । हामीलाई थाहा छ यो परजीवीहरूको रजगज बन्द गर्नासाथ देशका आधा समस्या तुरुन्तै समाधान भएर जानेछन् ।’

उनले अगामी २१ फागुन हुने निर्वाचनमा रास्वपालाई बहुमतका साथ विजयी गराउन समेत अपिल गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =