नेपालमा विदेशी कामदारको संख्या बढ्दो, श्रम इजाजत लिएर ७४ देशका नागरिकले गर्छन् काम  

काठमाडौं । नेपालमा आएर काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढेर गएको छ । श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार चीन, भारत, अमेरिका, बेलायत, क्यानडासहित ७४ देशका नागरिकले श्रम इजाजत लिएर निर्माण, स्वास्थ्य, हवाई उडानसहितका क्षेत्रमा काम गरिरहेका छन् ।

विभागकाअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ८ सय ९२ जना विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार ६ सय ६७ जनाले श्रम नवीकरण गराएका थिए । यसरी कुल २ हजार ५ सय ५९ जना विदेशी श्रम इजाजत लिएर नेपालमा कार्यरत छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३ सय ७३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ७ सय ९३ जनाले नवीकरण गराएका छन् । यस अवधिमा १ हजार १ सय ६६ जना विदेशीले श्रम इजाजत प्राप्त गरेका छन् ।

भारतीय कामदारको अभिलेख छैन्

भारतबाट नेपालमा आएर विभिन्न क्षेत्रमा ठुलो संख्यामा काम गरिरहेका छन् तर भारतीय नागरिकले नेपालमा आएर काम गर्दा श्रम स्वीकृति लिन नपर्ने भएकाले उनीहरूको अभिलेख सरकारी रेकर्डमा खासै देखिँदैन । ठुलो संख्यामा भारतीय नागरिकहरू नेपालमा काम गरिरहेका भए पनि उनीहरूले श्रम इजाजत लिन नपर्ने प्रावधानका कारण वास्तविक संख्या अभिलेखमा नरहेको श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणी पाण्डे बताउँछन् ।

उनकाअनुसार नेपाल–भारतबीच सन् १९५० को सन्धिअनुसार दुवै देशका नागरिकले एकअर्का देशमा काम गर्दा श्रम इजाजत लिनु नपर्ने व्यवस्था छ । तथापि, केही प्रतिष्ठानमा उच्चस्तरमा कार्यरत ३० जना भारतीय नागरिकले भने श्रम स्वीकृति लिएर काम गरिरहेका छन् । नेपालमा आएर काम गर्ने भारतीय मजदुरको अभिलेख राम्रोसँग नराखिए पनि निर्माण क्षेत्रमा ठुलो मात्रमा भारतीय कामदारहरू रहेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् । उनकाअनुसार नेपालका निर्माण क्षेत्रमा अहिले पनि करिब ७ लाख भारतीय मजदुर कार्यरत छन् । नेपालमा निर्माण क्षेत्रमा काम गर्ने मजदुरको अभाव चरम छ ।

विदेशीने होडले गर्दा मजदुर नपाइएको र भारतबाट ठुलो संख्यामा मजदुर ल्याउन परेको अध्यक्ष सिंह बताउँछन् । भारतका गाउँ गाउँमा गएर मजदुर ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘करिब ७ लाख भारतीय मजदुर नेपालको निर्माण क्षेत्रमा कार्यरत छन् । अहिले पनि मजदुर अभाव छ । आफैँ भारतको गाउँ गाउँमा गएर मजदुरहरू ल्याएर काम गराउनुपर्ने स्थिति छ’ अध्यक्ष सिंहले भने, ‘निर्माण क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा भारतीय मजदुरको संख्या २० लाख भन्दा बढी हुनसक्छ ।’

सिंहकाअनुसार निर्माण क्षेत्रमा कार्यरत भारतीय मजदुर नेपालीभन्दा फरक हुन्छन् । नेपाली श्रमिकहरू विदेश जाँदा कम्तीमा दुई वर्षका लागि जाने गर्छन् भने भारतीय मजदुरहरू नेपालमा बढीमा ६ महिना काम गरेर फर्कने गरेका छन् ।

बढी श्रम इजाजत लिनेमा चिनियाँ कामदार 

श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणी पाण्डे अहिले संख्यात्मक रूपमा श्रम स्वीकृति लिएर सबैभन्दा धेरै चिनियाँ नागरिकले नेपालमा श्रम इजाजत लिएर काम गरिरहेको बताउँछन् । उनकाअनुसार बर्सेनी करिब १ हजार ६ सय चिनियाँ नागरिक नेपालमा आएर काम गरिरहेका छन् ।

त्यस्तै, बेलायत (युके)बाट एक सयभन्दा बढी नागरिक नेपालमा कार्यरत छन् भने जापानबाट पनि १ सय भन्दा बढी नागरिक विभिन्न परियोजनामा संलग्न छन् । नेपालको श्रम ऐनअनुसार बढी दक्ष कामदारलाई बढीमा ५ वर्ष र अन्य प्राविधिकलाई ३ वर्षसम्म काम गर्न दिने व्यवस्था छ । बढी दक्ष कामदारले पुनर्स्थापना योजना पेस गर्नुपर्छ । उच्च प्राविधिक काम गर्ने विदेशी नागरिकले १२ वर्षसम्म श्रम नवीकरण गराएर बस्न पाउने व्यवस्था छ ।

नेपालको निर्माण क्षेत्रमा धेरै छन् विदेशी कामदार 

विभागकाअनुसार विशेषगरी निर्माण क्षेत्रमा विदेशी नागरिकको उपस्थिति उल्लेख्य छ । सुरुङ, टनेल, जलविद्युत आयोजनाजस्ता प्रविधिमा आधारित ठुला परियोजनामा विदेशी प्राविधिक कार्यरत छन् । चिनियाँ सहयोगमा स्थापित सिमेन्ट तथा जलविद्युत उद्योगहरूमा चिनियाँ नागरिकहरूको संलग्नता देखिन्छ ।

यस्तै, नेपालमा सञ्चालित ब्रिटिस स्कुलहरूमा युकेका नागरिकहरू कार्यरत छन् भने जापानी परियोजनाहरूमा १०० भन्दा बढी जापानी नागरिक कार्यरत छन् । केही अस्पतालमा विदेशी डाक्टर कार्यरत छन् । केही एयरलाइन्स कम्पनीहरूमा विदेशी स्टेसन म्यानेजर छन् भने कतिपय विश्वविद्यालयमा विदेशी शिक्षकले अध्यापन गरिरहेका छन् ।

महानिर्देशक पाण्डेले भने, ‘खास गरी निर्माण क्षेत्रमा विदेशी नागरिकहरू छन् । जहाँ प्रविधिको धेरै प्रयोग हुन्छ त्यस्ता क्षेत्रमा विदेशी कामदारहरू धेरै रहेका छन् । सुरुङ टर्नेल, जलविद्युत निर्माणजस्ता ठुलठुला परियोजनामा विदेशीहरूले आएर काम गरिरहेका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =