खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई गरेको छ ।
विभागले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक विवरणमा आयात अनुमतिपत्र जारीदेखि विषादी परीक्षणसम्मका गतिविधिमा कडाइ गरिएको उल्लेख छ ।
विभागले चालु आर्थिक वर्षको ६ महिनामा ७ हजार ८ सय ७३ वटा खाद्य पदार्थको आयात अनुमतिपत्र जारी गरेको थियो । तर आवश्यक कागजात अधूरा, पूर्ण लेबल विवरण नभएका वा सेवाग्राहीको माग अनुसारका मसला, कच्चा तेल, भिटामिन प्रिमिक्स, चामल, चाउचाउ, तिलको तेल, लिक्विड ग्लुकोज लगायत २२९ वटा कन्साइन्मेन्टको अनुमति खारेज गरिएको विभागका प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिइन् ।
विभागले आयात अनुमति पत्र नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्रदान गर्ने गरेको उनले जानकारी दिइन् । विभागले निर्यात प्रयोजनका लागि प्रयोगशाला परीक्षण र हेल्थ सर्टिफिकेट जारी गरी निर्यातलाई सहज बनाएको छ । विभिन्न खाद्य पदार्थहरू जस्तै छुर्पी, चिउरा, अचार, मसलाजन्य पदार्थ, फ्रेस अदुवा, मह, प्रशोधित वनस्पति तेल, चिया, कफी—विभिन्न देशमा निर्यातका लागि प्रमाणपत्र जारी गरिएको प्रवक्ता डा। शर्माले जानकारी दिइन् ।
उनले भनिन् ‘आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा जम्मा ७ हजार ८७३ वटा खाद्य पदार्थको आयात अनुमतिपत्र जारी गरिएको थियो । यस वर्ष आवश्यक कागजात पूरा नभएका, पूर्ण लेबल विवरण नभएका साथै सेवाग्राहीको मागअनुसार मसला, कच्चा तेल, बेकरी सर्टनिंग, भिटामिन प्रिमिक्स, चामल, चाउचाउ, तिलको तेल, लिक्विड ग्लुकोज आदि लगायतका विविध खाद्य पदार्थहरू गरी २२९ वटा कन्साइन्मेन्टहरुको अनुमति अस्वीकृत गरिएको थियो। खाद्य पदार्थको आयात अनुमति पत्र जारी गर्ने कार्य नेपाल राष्ट्रिय एकद्वार प्रणाली बाट अनलाइन मार्फत सेवा दिने कार्य भइरहेको छ ।’
विभागले आयातित तरकारी र फलफूलमा विषादीको द्रुत परीक्षण (आरविपिआर) लाई पनि कडाइका साथ लागू गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ३४ हजार ८५५ नमुना परीक्षण गर्दा १९ नमुना प्रतिकुल रहेको प्रवक्ता शर्माले जानकारी दिइन् । उनकाअनुसार आन्तरिक बजारमा काठमाडौँ उपत्यकाका मुख्य तरकारी–फलफूल बजारबाट १ हजार २५३ नमुना सङ्कलन गरिएकोमा सीतापाइलामा एउटा रायोको सागको नमुना प्रतिकुल पाइएको थियो ।








