ओली झापा–५ बाटै चुनाव लड्नु स्वाभाविक होः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार दिने विषय स्वाभाविक भएको बताएका छन् ।
ओलीले आफ्नो परम्परागत निर्वाचन क्षेत्र रोज्नु एमालेको आन्तरिक निर्णय भएको भन्दै यसमा कुनै विशेष टिप्पणी गर्न आवश्यक नरहेको बताएका हुन् । बिहीवार पत्रकार सम्मेलनका क्रममा उनले ओली र झापा ५ को सम्बन्ध पुरानो भएको स्मरण गराए । ‘पहिलो कुरा एमालेका अध्यक्ष केपी ओली झापा ५ मा उठ्दै आएको क्षेत्र हो उहाँको । उहाँहरु अहिले पनि त्यहीँबाट उठ्ने निर्णय भई नै सकेको छ, त्यो उहाँहरुको कुरा हो । त्यहाँ मैले धेरै भन्नु केही छैन’ उनले भने ।
एमाले अध्यक्ष ओलीले झापालाई नै आफ्नो मुख्य चुनावी आधार क्षेत्र बनाउँदै आएको सन्दर्भमा यसलाई सामान्य राजनीतिक प्रक्रियाको रूपमा व्याख्या गरे । विगतका निर्वाचनहरूमा पनि ओली सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए । ‘एमाले झापा ५ मा केन्द्रित अहिले मात्रै भएको होइन, अध्यक्ष जहिले पनि झापा ५ बाट उठेको हुनाले त्यो स्वभाविक ठान्छु म चाहीँ त्यसमा हाम्रो धेरै भन्नु केही पनि छैन’ उनले भने ।
नेपाली राजनीतिमा पछिल्लो समय एमाले र नेपालीकम्यनुनिष्ट पार्टीबीचमा तिक्तता देखिँदै आएपनि विपक्षी दलको नेताको चुनावी क्षेत्रका बारेमा दाहालले देखाएको यो सन्तुलित प्रतिक्रियालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।








