नौबिसे-नागढुङ्गा सडक खण्डको ८५ प्रतिशत काम सकियो

काठमाडाैं । धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे–नागढुङ्गा सडकको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । नौबिसे–नागढुङ्गा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाका अनुसार नौबिसे–नागढुङ्गा सडक खण्डअन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुईवटा पुल निर्माण गर्नुपर्ने थियो ।

सोहीबमोजिम आयोजनाले धेरै काम सम्पन्न गरिसकेको छ । आयोजनाले अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गर्नुपर्नेछ । अन्तिम तहको कालोपत्रेको काम सकिएपछि सडक सुरक्षाका मापदण्ड तथा रङ्गरोगनको काम सुरु गरिने आयोजनाले जनाएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन र त्यसअघि होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ ।

आकाशे पुल निर्माण हुने खानीखोला क्षेत्रमा रहेको टहरा विवादका कारणले पनि केही समय निर्माणमा ढिलाइ भएको छ । आकाशे पुल निर्माणलगायत मुख्य कामहरू ३५ दिनभित्र सक्ने आयोजनाको दाबी छ । सडक निर्माण स्थानीय बासिन्दासँग जोडिएको विषय भएकाले सडक निर्माणको क्रममा एउटै विषयमा समाज विभक्त हुँदा निर्माणमा समस्या हुँदै आएको छ ।

आकाशे पुल निर्माणका लागि अधिकांश स्थानीयलाई सार्ने काम सकिएकाले पनि कामले गति लिने विश्वास आयोजनाले लिएको छ । सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्का निर्वाचनका कारणले निर्माणमा केही ढिलाइ हुने बताउँछन् । यसअघि सडकमा रहेका विद्युत् पोलका कारण पनि निर्माण कार्य प्रभावित हुँदै आएको थियो । २०७९ बाट निर्माण सुरु गरिएको आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =