रवि र बालेनलाई हर्कको प्रश्नै प्रश्न- ‘७४ लाख सहकारी पीडितबारे के बोलियो ?’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको इटहरीमा आयोजना गरेको प्रादेशिक सभाप्रति कडा कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले रास्वपा सभापति रवि लामिछाने र नेता बोलेन्द्र शाहलाई लक्षित गर्दै विभिन्न प्रश्न तेर्स्याएका हुन् ।

साम्पाङले १४ जिल्लाका कार्यकर्ता उतारिएको भनिएको सो सभामा देशका ज्वलन्त मुद्दाहरूका बारेमा रास्वपाको आधिकारिक धारणा माग गरेका छन् । उनले प्रश्न गर्दै लेखेका छन्, ‘त्यत्रो ठुलो सभामा नो एमसिसी भन्ने हिम्मत भयो कि भएन ? अनि ७४ लाख सहकारी पीडितहरूका बारेमा केही बोलियो कि नाइँ ?’

त्यति मात्र नभई, साम्पाङले रास्वपाको उक्त सभाले सिंहदरबार जलाउने जस्तो विवादित अभिव्यक्तिलाई कुन रूपमा पुष्टि गर्‍यो भन्दै व्यङ्ग्य समेत गरेका छन् । सुकुम्वासी र मजदुरका मुद्दामा रास्वपा अनुदार रहेको सङ्केत गर्दै उनले लेखेका छन्, ‘किसानलाई फोहोर भन्नेले मजदुरबारे के भन्यो ? सुकुम्वासीका बस्तीमा डोजर चलाउने कुरामा के जवाफ छ ?’

इटहरीमा शनिबार सम्पन्न कोशी प्रदेशस्तरीय आमसभामा रास्वपा नेता बोलेन्द्र शाहले धरानको खानेपानी समस्याको विषयलाई प्राथमिकताका साथ उठाएका थिए । उनले रास्वपा सरकारमा गएपछि धरानको प्यास मेट्ने दाबी गरे । उनले करिब ५ अर्ब रुपैयाँको लागतमा सप्तकोशीको पानी लिफ्टिङ प्रविधिमार्फत धरान पुर्‍याउने योजना सुनाएका थिए ।

सो क्रममा नेता शाहले वर्तमान सरकार र जनप्रतिनिधिको कार्यक्षमतामाथि पनि प्रश्न उठाएका थिए । उनले भने, ‘अहिलेको सरकारले के गर्‍यो ? जनप्रतिनिधिहरूको पहुँच पुग्यो कि पुगेन ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =