ब्रुकको ऐतिहासिक शतकमा इंग्ल्यान्ड सेमिफाइनलमा, पाकिस्तान बाहिरिने संघारमा

काठमाडौं । युवा ब्याटर ह्यारी ब्रुकको विष्फोटक शतकको मद्दतले साविक विजेता इंग्ल्यान्ड जारी ट्वान्टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सुपर-एटको रोमाञ्चक भिडन्तमा पाकिस्तानलाई २ विकेटले स्तब्ध पार्दै इंग्ल्यान्डले अन्तिम चारको यात्रा सुरक्षित गरेको हो ।
१ सय ६५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर जित हात पार्यो । इंग्ल्यान्डको जितका मुख्य नायक ब्रुकले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो शतक प्रहार गरे । उनले मात्र ५१ बलमा १० चौका र ५ छक्काको मद्दतले १०० रनको योगदान दिए ।
सुरुआती ब्याटरहरू सस्तैमा समेटिएपछि संकटमा परेको इंग्ल्यान्डका लागि ब्रुक र विल ज्याक्स (२८ रन) ले छैटौं विकेटका लागि ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । खेलको अन्तिम ओभरमा ३ रन आवश्यक रहेका बेला जोफ्रा आर्चरले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी, सलमान मिर्जा र उस्मान तारिकले समान २-२ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।
यसअघि क्यान्डीमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । ओपनर साहिबजादा फरहानले सर्वाधिक ६३ रन जोडे पनि अन्य ब्याटरले ठूलो इनिङ्स खेल्न सकेनन् । कप्तान बाबर आजम र फाखर जमानले समान २५-२५ रन बनाए । इंग्ल्यान्डका स्पिनर लिएम डावसनले २४ रन खर्चेर ३ विकेट लिए भने जोफ्रा आर्चर र जेमी ओभरटनले २-२ विकेट झारे ।
लगातार दोस्रो जितसँगै इंग्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ । यसअघि उसले श्रीलंकालाई पराजित गरेको थियो । अर्कोतर्फ, पहिलो खेल वर्षाका कारण रद्द भएको र दोस्रो खेलमा हार बेहोरेको पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिने निश्चितप्रायः भएको छ ।








