मिथिला मध्यमापरिक्रमा सामाजिक एकताको प्रतीक होः मुख्यमन्त्री यादव

महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मिथिला मध्यमा परिक्रमाले मिथिलाको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचानलाई थप सुदृढ बनाएको बताएका छन् ।
आज मिथिला मध्यमा परिक्रमाका क्रममा महोत्तरीस्थित कञ्चनवन बासामा आयोजित अध्यात्मिक होली विशेष उत्सवमा उनले मिथिला मध्यमा परिक्रमा केवल धार्मिक यात्रामात्र नभई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको प्रतीक रहेको बताए ।
मुख्यमन्त्री यादवले होली पर्वलाई आध्यात्मिक दृष्टिकोणबाट मनाउने परम्पराले समाजमा सकारात्मक ऊर्जा र नैतिक मूल्य मान्यताको प्रवद्र्धन गर्ने धारणा राखे ।
मिथिला क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्त्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री यादवले परिक्रमामा सहभागी साधुसन्त, श्रद्धालु तथा स्थानीयवासीको सक्रिय सहभागिताले प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विभिन्न धार्मिक अगुवा, स्थानीय जनप्रतिनिधि तथा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।








