टी-२० विश्वकप : अपराजित भारत र दक्षिण अफ्रिकाबीच आज जम्काभेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको रौनक यतिबेला उत्कर्षमा पुगेको छ । प्रतियोगिता अन्तर्गत शनिबारदेखि सुरु भएको निर्णायक ‘सुपर-८’ चरणका खेलहरूले क्रिकेट प्रेमीहरूलाई थप उत्साहित बनाएका छन् । सुपर-८ को पहिलो खेल वर्षाका कारण प्रभावित हुँदा न्युजिल्यान्ड र पाकिस्तानले अंक बाँड्दै चित्त बुझाउनु परेको छ ।

यसपटकको विश्वकपमा २० राष्ट्रले सहभागिता जनाएकोमा आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्डले अन्तिम आठको यात्रा तय गरेका छन् । सुपर-८ का टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘एक’ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे रहेका छन् भने समूह ‘दुई’ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका परेका छन् ।

प्रतियोगिताको तालिका अनुसार आइतबार दुईवटा रोमाञ्चक खेलहरू हुँदैछन् । पहिलो खेलमा दिउँसो ३ बजेर १५ मिनेटमा श्रीलंका र इंग्ल्यान्ड आमनेसामने हुनेछन् । समूह ‘बी’ बाट तीन जित र एक हारको नतिजासहित उपविजेता बनेको श्रीलंका र समूह ‘सी’ बाट समान नतिजा निकाल्दै उपविजेता बनेको इंग्ल्यान्डबीचको यो प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ ।

त्यस्तै, आइतबारको दोस्रो खेलमा दुई बलिया टोलीहरू साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच ‘हाइ-भोल्टेज’ भिडन्त हुँदैछ । भारतमा हुने यो खेल साँझ ७ बजेर १५ मिनेटमा सुरु हुनेछ । समूह चरणका सबै खेल जितेर अपराजित रहेका भारत (समूह ‘ए’ विजेता) र दक्षिण अफ्रिका (समूह ‘डी’ विजेता) बीचको यो खेललाई विश्वभरका प्रशंसकले विशेष चासोका साथ हेरेका छन् । दुवै टोली आफ्नो अपराजित यात्रालाई कायमै राख्ने रणनीतिमा मैदान उत्रनेछन् ।

फागुन २४ गते हुने फाइनल खेलसँगै यो विश्वकपको समापन हुनेछ । नेपाली क्रिकेट टोली भने समूह चरणको यात्रा पार गर्न नसकी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =