विध्वंसबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ: घनश्याम भुसाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।
यो निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको बताएका हुन् ।
बुटवलमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले मुलुकले सामना गरेको विध्वंसकारी घटनाबाट शिक्षा लिनुपर्ने बताए । राजनीतिक पार्टीहरूको नालायकीपनलाई उजागर गरी राष्ट्रिय सङ्कल्प गर्नुपर्ने भएपनि त्यसो नगरी निर्वाचनमा जाने तयारीले समस्या लुकाउने काम मात्र भएको बताए । उनले प्रमुख राजनीतिक नेताहरू—केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका राजनीतिक तथा आर्थिक नीतिहरूलाई नालायकीको संज्ञा दिँदै आलोचना गरे । यस्ता नालायकीले मुलुकलाई सङ्कटमा पुर्याएको र इतिहासमा यसलाई स्थापित गरी भविष्यमा दोहोरिन नदिने सङ्कल्प गर्नुपर्ने उनको मत छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोग जस्ता प्रक्रियाले पनि यथार्थ उजागर नगर्ने आशङ्का उनले व्यक्त गरे । भुसालले यो अवसर गुमाएर मुलुक भूराजनीतिक दबाबमा रहेको सानो राष्ट्रका रूपमा कमजोर बन्दै गएको बताए । निर्वाचनपछि पनि पुरानै प्रवृत्ति दोहोरिने र विकासको पराश्रित बाटोले रोजगारी नदिने, विचौलियातन्त्र बलियो हुने, सुशासन नहुने चेतावनी दिए ।
उनले भने ‘यो हामीले नचाहेको निर्वाचन हो, संविधानको हिसाबले, हाम्रो लोकतान्त्रिक प्रक्रियाका हिसाबले, अथवा हामीले जे संरचनाहरू बनाएका छौँ, प्रक्रियाहरू बनाएका छौँ, संवैधानिक प्रक्रियाहरू बनाएका छौँ, त्यस हिसाबले यो अकस्मात् हामी माथि आइपरेको चुनाव हो । यस अर्थमा यो वाञ्छित नेपाली राष्ट्रले, जनताले चाहेको चुनाव थिएन । तर यो अपरिहार्य चुनाव हो । किनभने जुन एउटा एउटा असाधारण भवितव्यमा हामीले पर्यौँ, राष्ट्र प¥यो र यसको निकास के हुनसक्छ भन्दा तत्कालका लागि हामी निर्वाचनमा जाने बाहेक अर्को निकास हुन सक्दैनथ्यो । यसले गर्दाखेरि यो अपरिहार्य छ । अवाञ्छित हो, नचाहेको कुरा हो, तर यो अपरिहार्य हो । दोस्रो कुरा हामीले असाध्यै धेरै ठुलो विध्वंसबाट केही राष्ट्रिय शिक्षा दूरगामी रणनीतिक शिक्षा लिन सक्थ्यो यो मुलुकले । खासगरी आगामी दिनमा यस्ता घटनाहरू नदोहोरिनका लागि एउटा सङ्कल्प गर्न सक्थ्यो राष्ट्रले, भनेको राजनीतिक पार्टीहरूले त्यो गर्न सक्थ्यो । किनभने राजनीतिक पार्टीहरूको घोर नालायकीका कारणले जे जस्ता प्रदर्शनको आयोजना भयो, त्यो अपहृत भयो र त्यसका नाममा त्यसलाई सिरानी हालेर जुन विध्वंस मच्चाइयो त्यो सानोतिनो विध्वंस थिएन । त्यो हाम्रो सार्वभौमसत्ता माथिको आक्रमण थियो । यी दुई वटै कुरा हामीले कार्पेट मुनि हालेर, लुकाएर, अनदेखा गरेर हामी चुनावमा जाँदैछौँ । लोकतन्त्रमा, लोकतान्त्रिक गणतन्त्रमा मुलुक चलाउने भनेको पार्टीहरूले नै हो । पार्टीहरू जस्ता हुन्छन् जस्तो गर्छ राष्ट्रले त्यस्तै गर्छ । यस्तो अवस्थामा पार्टीहरूको नालायकीलाई लुकाएर हामी निर्वाचनमा जाँदैछौँ । के नालायकी थियो तिनको राजनीतिक, तिनको आर्थिक नीतिहरूको हिसाबले खासगरी राजनीतिक क्षेत्रमा र आर्थिक क्षेत्रमा तिनका नालायकीहरू छरपस्ट भएका थिए र त्यो छरपस्ट भएको नालायकीलाई राष्ट्रले यो नालायकी थियो फलानो फलानोले नालायकी गरेका थिए भनेर हामीले त्यसलाई स्थापित गर्नुपर्थ्यो । जसले गर्दाखेरि अबको राज्यले यस्ता नालायकीहरू गर्दैन । अब राजनीतिले यस्तो नालायकी गर्दैन । अब हाम्रो राजनीतिमा आउने कोही पनि नेताले त्यस खालका नालायकीहरू गर्दैन, जुन कमरेड ओलीले गर्नुभयो, देउवाजीले गर्नुभयो, प्रचण्डजी र अरू केही नेताहरूले जुन नालायकी गरे यी यी खालका नालायकी गरे इतिहासमा अब यो मुलुकमा राजनीति गर्ने कसैले पनि यो नालायकी गर्दैन भनेर हामीले स्थापित गर्नुपर्थ्यो त्यो सङ्कल्प गर्नुपर्थ्यो । तर तिनका नालायकीका नाममा देश भित्र र बाहिरका षड्यन्त्रकारीहरू जसरी जसरी षड्यन्त्र गरे त्यसमा पुनरुत्थानवादीहरू सामाजिक लफङ्गा सोसल लम्पेन भन्छु मैले सामाजिक लफङ्गाहरू र अरू अपराधीहरू, समाजका तमाम खालका अपराधीहरू मिलेर जसरी जुन तोडफोड गरे र सार्वभौमसत्ता माथि आक्रमण गरे । अब यो नदोहोरिनका लागि के गर्नुपर्छ अब यस्तो नहुनका लागि के गर्नुपर्छ भनेर हामीले शिक्षा लिनुपर्थ्यो । नत्र भने हाम्रो जस्तो भूराजनीतिको यत्रा ठुला उदाउँदा शक्तिशाली मुलुकहरूको बीचमा रहेको यो सानो मुलुकको सार्वभौमसत्ताको यो हालत मुलुकले थेग्न सक्दैन । एकदमै अत्यास लाग्दो सम्झिदा खेरि पनि अत्यास लाग्दो कुरा हो । हो यो कुरा हामीले स्थापित गरेर जानुपर्थ्यो ।’
उनले राजनीतिलाई घरेलुकरण गर्नुपर्ने, पश्चिमेली मोडेलबाट मुक्त भएर नेपाली बाटो खोज्नुपर्नेमा जोड दिए । मुलुकको मूल समस्या परनिर्भर विकास, दलाल पुँजीवाद र बिचौलिया तन्त्र भएको भन्दै बौद्धिक वर्ग तथा राजनीतिकर्मीहरूलाई यस्ता प्रश्न उठाई निकास दिन आह्वान गरे । भुसालले निर्वाचनलाई सौभाग्य माने पनि यसले मात्र सङ्कटको निकास नदिने, गहिरो पुनर्विचार आवश्यक रहेको बताए ।










