बलराका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ स्थित बलरा नगरपालिकाका पूर्व प्रमुख अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सक्रिय रहँदै आएका सिंहलाई कांग्रेसका सभापति गगनकुमार थापाले गएराति पार्टीमा स्वागत गरेका हुन् ।
सिंहकै निवासमा आयोजना गरिएको एक विशेष कार्यक्रमका बीच सभापति थापासहित कांग्रेसका पूर्व जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह लगायतका नेताहरूले उनलाई पार्टीमा भित्र्याएका हुन् । जिल्ला तहका विभिन्न नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा उनले कांग्रेसको सदस्यता ग्रहण गरे ।
राजनीतिक यात्राको पृष्ठभूमि हेर्दा सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट ४ हजार ३ सय २७ मत प्राप्त गरी बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । यद्यपि, २०७९ सालको निर्वाचनमा भने उनी लोसपाबाट पुनः उम्मेदवार बने पनि पराजित भए । सो निर्वाचनमा उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार रामाशंकर कुशवाहाले १ हजार १२ मतान्तरले पछि पारेका थिए ।
सर्लाही-४ मा पछिल्लो समय लोसपाका प्रभावशाली नेताहरू कांग्रेसमा प्रवेश गर्ने क्रम बढेको छ । यसअघि पूर्व संविधानसभा सदस्य केदारनन्दन चौधरी र मनिष मिश्र लगायतका दर्जनौं नेता-कार्यकर्ताहरू लोसपा परित्याग गरी कांग्रेसमा समाहित भइसकेका छन् ।










