एमालेको झन्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

काठमाडौं । दाङको तुलसीपुरमा नेकपा एमालेको झन्डा जलाएको अभियोगमा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनामा संलग्न भएको आरोपमा तुलसीपुर उपमहानगरपालिका-६ का २४ वर्षीय विक्रम परियार र वडा नम्बर ४ का रमेश राना मगरलाई गएराति पक्राउ गरेको हो ।

यसअघि शुक्रबार मात्रै प्रहरीले तुलसीपुर-७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिसकेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले झन्डा जलाउने कार्यमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको बताए ।

गत बिहीबार राति साढे ९ बजे तुलसीपुरको वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वागतका लागि भेला भएको भिडमा केही व्यक्तिले एमालेको झन्डा जलाएका थिए । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीव्र विरोध सुरु भएको थियो । एमाले कार्यकर्ताहरूले घटनाको विरोधमा शुक्रबार साँझ तुलसीपुर, घोराही र लमहीमा प्रदर्शन समेत गरेका थिए ।

विरोध र्‍यालीका क्रममा प्रदर्शनकारीले तुलसीपुरस्थित रास्वपाको सम्पर्क कार्यालयमा आक्रमणको प्रयास गरेका थिए । तर, सुरक्षाकर्मीको सक्रियताका कारण अप्रिय घटना हुन नपाएको प्रहरीले जनाएको छ । दाङका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले पक्राउ परेकाहरूमाथि कुन कानुनी प्रावधान अन्तर्गत मुद्दा चलाउने भन्ने विषयमा छलफल भइरहेको बताए । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 8 =