‘संविधान कार्यान्वयन नगर्ने दलबाट घोषणापत्र कार्यान्वयनको अपेक्षा कसरी गर्ने ?’

काठमाडौं । संविधान तथा प्रशासनविद् काशीराज दाहालले संविधान पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेका राजनीतिक दलहरूले चुनावी घोषणापत्र कार्यान्वयन गर्छन् भन्नेमा आशंका र प्रश्न उठेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘राजनीतिक दलका घोषणापत्रमा दलित, महिला र सिमान्तकृत समुदायका मुद्दा र प्रतिबद्धतासम्बन्धी संवाद’ कार्यक्रममा बोल्दै दाहालले संविधान निर्माणको एक दशक बितिसक्दा पनि आवश्यक कानुन निर्माण हुन नसकेको टिप्पणी गरे ।
उनले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने विषय राजनीतिक दल र निर्वाचनपछि बन्ने सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए । “संविधानमा लेखिएका प्रावधान नै प्रभावकारी रूपमा लागू हुन सकेका छैनन् भने घोषणापत्रमा लेखिएका कुरा कति लागू होलान् भन्नेमा जनताले प्रश्न उठाउनु स्वाभाविक हो,” उनले भने ।
दाहालले संविधान कार्यान्वयनको पहिलो शर्त आवश्यक कानुन निर्माण भएको उल्लेख गर्दै संविधान प्रवर्द्धन पनि दलहरूको प्राथमिकतामा पर्नुपर्ने धारणा राखे । उनका अनुसार संविधान कार्यान्वयनमा देखिएका समस्याको गहिरो अध्ययनसमेत हुन नसकेको अवस्था छ ।
“गरिबीका कारण हो कि, विभेदका कारण हो कि, सुशासनको अभावका कारण हो कि, समस्या कहाँ छ भन्ने विषयमा कसले अध्ययन गर्यो?” उनले प्रश्न गरे, “यदि समयमै स्पष्ट कार्ययोजना बनाइएको भए आज पुनः घोषणापत्रमार्फत प्रतिबद्धता दोहोर्याउनुपर्ने अवस्था आउँदैनथ्यो ।”
उनले अधिकांश दलले घोषणापत्रमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाए पनि लामो समयदेखि सत्तामा रहेका पुराना दलहरूले विगतमा किन सुशासन कायम गर्न नसके भन्ने विषयमा स्पष्ट जवाफ दिनुपर्ने बताए ।
दाहालले संयुक्त राष्ट्र संघका दिगो विकास लक्ष्य कार्यान्वयनमा समेत राजनीतिक दलहरूले स्पष्ट प्रतिबद्धता र ठोस योजना ल्याउनुपर्नेमा जोड दिए ।










