१६ औँ योजनालाई प्रभावकारी बनाउन कार्ययोजना ल्याउँदैछौँं: उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले १६औँ आवधिक योजनालाई प्रभावकारी बनाउन विस्तृत कार्यान्वयन कार्ययोजना मन्त्रिपरिषद्मा पठाइसकेको बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले योजनामा राखिएका लक्ष्यहरू महत्वाकांक्षी भए पनि हासिल गर्न सकिने दाबी गरे । लक्ष्य प्राप्तिका लागि सरोकारवाला सबै पक्षको समन्वय आवश्यक रहेको उनको भनाइ छ ।
१६औँ योजनाअन्तर्गत पर्यटन क्षेत्रमा उल्लेख्य सुधारको लक्ष्य राखिएको छ । हाल १३ दिन रहेको पर्यटकको औसत बसाइ १५ दिन पुर्याउने, एक पर्यटकको दैनिक औसत खर्च ४० डलरबाट बढाएर ८५ डलर पुर्याउने तथा पर्यटन क्षेत्रको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा योगदान २ प्रतिशतबाट ७ प्रतिशतसम्म पुर्याउने लक्ष्य तय गरिएको श्रेष्ठले जानकारी दिए ।
“लक्ष्यहरू महत्वाकांक्षी जस्ता देखिए पनि कार्यान्वयन कार्ययोजनामार्फत स्पष्ट मार्गचित्र तयार गरिएको छ,” उनले भने, “क्षेत्रगत कार्ययोजना बनाइएको छ, जसले मन्त्रालय र विभागलाई काम गर्न सहज बनाउँछ।”
आयोगका अनुसार तयार पारिएको कार्ययोजनाले मन्त्रालयहरूलाई जिम्मेवारी स्पष्ट गर्दै नतिजामुखी कार्यसम्पादनमा सघाउने अपेक्षा गरिएको छ ।










