बलात्कार सुन्दा नराम्रो, अनुभूति हुनु झन् एक्स्ट्रिम : पशुपति राई (कुराकानी)

‘प्राइम फेशी’ मा २ घण्टा लामो पशुपति राईको एकल अभिनय

प्रिजा योञ्जन-एक सफल वकिल ।

उनी ती पुरुषहरूको पक्षमा वकालत गर्छिन्, जसलाई यौन दुर्व्यवहारको आरोप लागेको हुन्छ । कानुनी दाँवपेच र तार्किक बहसका आधारमा उनले थुप्रै मुद्दाहरू जितिसकेकी छन् । अदालतको कठघरामा उनी सधैँ आत्मविश्वासी देखिन्छिन् ।

तर एक दिन, जिन्दगीले अनपेक्षित मोड लिन्छ । उनी आफ्नै प्रेमीबाट यौन हिंसाको सिकार बन्छिन् ।

त्यसपछि सुरु हुन्छ अर्को लडाइँ ।

पीडित बनेकी उनलाई नै थप पीडा हुने गरी प्रश्नहरूको वर्षा गरिन्छ । चरित्रमाथि शंका गरिन्छ । व्यवहारमाथि टिप्पणी गरिन्छ । र न्याय दिने भनिएका संरचनाहरूभित्रै महिलाहरू कति असुरक्षित छन् भन्ने कटु यथार्थ देखाएको छ नाटक ‘प्राइम फेशी’ ले ।

अष्ट्रेलियाली नाटककार सुजी मिलरद्वारा लिखित यो चर्चित नाटक हाल टेकुस्थित कथा घेराको कौशी थिएटरमा मञ्चन भइरहेको छ । आकांक्षा कार्कीको निर्देशन र दुर्गा कार्कीको अनुवाद रहेको यस नाटकमा रंगकर्मी पशुपति राईले एकल अभिनय गरेकी छन् ।

करिब दुई घण्टा लामो एकल प्रस्तुतिमा राईले पीडित महिलाको मानसिक अवस्थालाई अत्यन्त प्रभावकारी ढंगले चित्रण गरेकी छन् । नाटकले यौन हिंसाका घटनामा महिलामाथि नै चरित्रहीनताको आरोप लगाउने सामाजिक प्रवृत्तिमाथि प्रश्न गरेको छ । साथै त्यसलाई अन्त्य गर्नुपर्ने सन्देश पनि दिएको छ ।

यसै सन्दर्भमा, हामीले नाटकमा पीडित महिला पात्रको भूमिका निर्वाह गर्दाको अनुभव, चुनौती र समाजमा यसले ल्याउनसक्ने परिवर्तनका विषयमा कलाकार पशुपति राईसँग कुराकानी गरेका छौँ ।

पढ्नुहोस्, मकालुखबरकर्मी तेन्जिङ डोल्मा तामाङले गरेको उक्त कुराकानीको सम्पादित अंश:-

‘प्राइम फेशी’ नाटकमा एक्लैले लगातार २ घण्टा अभिनय गर्नु भएको छ । गाह्रो भएन ?

एकदमै गाह्रो भएको थियो मलाई । त्यसमा पनि लामो लामो सिनहरू छ । प्राक्टिस हो । प्राक्टिस गर्दै जाँदा बानी हुँदै गयो । समस्या चाहिँ भएको थियो ।

लगातार २ घण्टा यस्तो संवेदनशील भूमिका निभाउनुपर्दा मानसिक र शारीरिक रूपमा कत्तिको कठिनाइ भयो ?

मान्छे हो । क्यारेक्टर अनुसार बोलिनु पर्ने छ, चल्नु पर्ने छ । मुख्यतः शारीरिक रूपमा थाकिन्छ । तर त्यो थकाइलाई देखाउन मिल्दैन । त्यसका लागि अगाडि नै हामीले तयारी गरेका हुन्छौँ । यो तुरुन्त आउने कुरा पनि होइन । महिनौँ भयो गरेको । प्राक्टिस गर्दा तपाईँको शरीरले पनि लिँदै जान्छ । यो कुरालाई मैलै सय चोटि २ सय चोटि भने हुला । बानी हुँदै गएपछि शरीरले पनि लिँदै जान्छ । हामीले दैनिक जीवनमा बोल्दा पनि शब्दहरू आफै फुर्छ । त्यो शरीरको एउटा प्रोसेस हुन्छ ।

मानसिक स्वास्थ्यको कुरा गर्नुपर्दा म क्यारेक्टरमा भइरहँदा चाहिँ मैले मेरो दायाँ बायाँ केही पनि सम्झिदिन । मैले त्यो क्यारेक्टर बाँची सकेपछि त्यसबाट म आफ्नै तरिकाले बाहिर निस्कन्छु । सबै कलाकारहरूको आ–आफ्नै तरिका हुन्छ । म चाहिँ रमाइलो गीतहरू सुन्छु, नुहाउँछु र बडि शेक गर्ने गर्छु । त्यो हो मेरो प्रोसेस चाहिँ ।

अभिनयको क्रममा तपाईँलाई सबैभन्दा कठिन भाग कुन लाग्यो ?

यौन दुर्व्यवहार । सुन्दा मात्रै कस्तो नराम्रो लाग्छ भने त्यसको भान हुनु त झनै एक्स्ट्रिम भइहाल्यो । अनि कानुनी कुराहरू । त्यसको शब्दलाई छुटाउनु हुँदैन । त्यसको पकडहरू । हो ती कुराहरू चाहिँ मलाई गाह्रो भइरहेको थियो । त्यसबाहेक डाइलग डेलिभरी, इमोसन चेन्ज गाह्रो त हुन्छ तर प्रोसेसले गर्दाखेरि सजिलो पनि भइरहेको हुन्छ ।

अभिनय गरिरहँदा आफैँलाई पनि असर पर्यो कि ?

एकछिन सम्म त हानी रहन्छ । तर अब फेरि आफूलाई हरेक दिन रि एनरजाइज गर्नुपर्छ । त्यसबाट बाहिर निस्कन त्यही बडि सेक गर्छु, डान्सहरू गर्छु ।

यो नाटकमा तपाईँले महिला वकिलको भूमिका निभाउनुभएको छ, जसले आफ्नै ब्वाइफ्रेन्डबाट यौन दुर्व्यवहार भोग्छन् । यस्तो संवेदनशील भूमिका निभाउँदा कस्तो अनुभव भयो

यो क्यारेक्टर गर्न पाउँदा म आफूलाई भाग्यमानी, गर्व महसुस गर्छु । कति क्यारेक्टरमा भन्न मन नलागे भन्नुपर्छ । यो क्यारेक्टर चाहिँ यस्तो क्यारेक्टर हो, जसबाट भन्नै पर्ने विषयहरू भन्न पाएको छु नि त । त्यसैले एकदमै गर्भ महसुस भयो ।

पात्रको पीडा र असहायतालाई दर्शकले महसुस गर्न सकुन् भनेर यहाँले के-के कामहरू गर्नुभयो ?

मोस्ट त यही स्क्रिप्ट मै ध्यान दिनुपर्यो । कानुनी प्रक्रियाका कुराहरू । यौन हिंसाका केसलाई क्रस एक्जामिनेसन , चेकजाँच परीक्षण चाहिँ कसरी गरिन्छ भन्ने कुराहरू , एक दुई जना मैले चिनेका वकिलहरूसँग गफ पनि गरे । अदालतको बहस इजलासमा जाने कोसिस पनि गरेका थियौँ तर भएन ।

साथै निर्देशकले मलाई ‘फ्री ब्याग’ भन्ने फिल्म पनि रिफर गर्नु भएको थियो । त्यसबाट पनि क्यारेक्टर लिन सकिन्छ भनेर । विशेषतः कानुनी कुराहरू के हो त भन्ने कुराहरूमा नै हामी लाग्यौँ । अनि ‘प्रिजा योञ्जन’ कस्तो खालको केटी हो ?, भनेर त्यही स्क्रिप्ट भित्र रहेर काम गर्यौँ ।

यो भूमिका निभाउँदा तपाईँले महिलाको सुरक्षा र अधिकारबारे के नयाँ कुरा सिक्नुभयो ?

मैले धेरै कुराहरू सिक्ने मौका पाए । नेपालमा पनि कति नाम चलेका मानिसहरूको नाम आएका छन् तर त्यसलाई कसरी हेरिरहेको छ त त्यो कुरालाई अझ कस्तो राम्ररी बुझ्ने मौका पाए । हेर्ने हो भने, सेलिब्रेटि भनिनेहरूको कति केसहरू लुकाइएको छ । महिलाहरूमा नै आक्षेप लगाइएको छ । पुरुषहरू भएको ठाउँमा किन जानुपर्यो, उसैले त लुगा खोलेको थियो । ‘मिलेसम्म चमत्कार, नमिले पछि बलात्कार’ भन्ने वर्डहरू छन् । यो नाटकले मलाई झन् अझ प्रस्ट बनायो । पहिले राजीखुसी शारीरिक सम्बन्ध राखिएको छ तर दोस्रो पटक नाइँ भनेको छ भने त्यो ‘नाइँ’ भन्ने कुरालाई कसरी लिइन्छ भन्ने कुराहरू अझ खोतलेर प्रस्ट बनाइदिएको छ । नाटकले झन् सोच्न बाध्य बनाउँछ । पीडित महिलाहरूलाई हेर्ने दृष्टिकोण झन् फराकिलो भयो ।

समाजमा यस्ता विषयलाई धेरै डर, शंका र कलङ्कका रूपमा हेरिन्छ । तपाईँले दर्शकलाई कसरी प्रोत्साहित गर्न चाहनुहुन्छ कि खुला रूपमा कुरा गर्न सकुन् ?

हामीले प्रोत्साहन भन्दा पनि धेरै भन्दा धेरै व्यक्तिले नाटक हेर्नू भयो भने बल्ल बहस सुरु हुन्छ होला जस्तो लाग्छ । हामीले पीडितलाई प्रोत्साहन गर्ने भन्दा पनि यो चाहिँ सम्बन्धित निकाय वा हामीले नै हेर्यो भने पीडितहरूलाई हेर्ने दृष्टिकोण अलि फरक हुन्छ कि भन्ने हो । उहाँहरू के गर्नुपर्छ वा हामीले के गर्न सक्छौँ भनेर हाम्रो नाटकले भन्दैन होला तर ‘हाम्रो समाजमा यस्तो चिज छ है । यस्तो गरिरहेको छ’ त्यत्ति मात्र बुझ्यो भने पनि परिवर्तन आउन सक्छ होला जस्तो लाग्छ ।

महिलाले नाइँ भनिराख्दा उल्टै महिलाहरू माथि आक्षेप लगाउने कुरा, दृष्टिकोण फरक आउँछ होला । त्यो चाहिँ ठुलो विषय हो जस्तो लाग्छ मलाई ।

(नाटक यही फागुन १६ गतेसम्म मंगलबारबाहेक हरेक साँझ ५:१५ बजे मञ्चन हुँदै छ । शनिवार भने दिउँसो १ बजे अतिरिक्त शो समेत मञ्चन हुने थिएटरले जनाएको छ ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =