केही सञ्चार माध्यमले गलत सूचना फैल्याएर नेकपालाई अवमूल्यन गरे: अग्निप्रसाद सापकोटा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही सञ्चार माध्यमहरूले आफ्नो पार्टीको उम्मेदवारविरुद्ध भ्रामक र गलत सूचना फैल्याएर अवमूल्यन गर्ने काम गरिरहेको जनाएको छ ।
मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो पार्टीका नेता अग्निप्रसाद सापकोटा सो प्रतिक्रिया दिएका हुन् ।
उनले पत्रकारिताको न्यूनतम मूल्य,मान्यता र निर्वाचन आचारसंहिता विपरीतका भ्रामक र गलत समाचार सम्प्रेषण गरेको भन्दै कडा आपत्ति समेत जनाए । उनले त्यस्ता खालको गतिविधि नगर्न पनि सञ्चार माध्यामहरुलाई आग्रह गरे ।
उनले सञ्चार माध्यामहरुले निर्वाचन आचारसंहिता पालना लगाउनका लागि अनुगमनका कडाइ गर्न नेपाल प्रेस काउन्सिलको समेत ध्यानाकर्षण गराए ।
नेता सापकोटाले भने ‘निर्वाचन आचारसंहिता उलङ्घन हुने विभिन्न प्रकारका गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । केही सीमित सञ्चार माध्यामहरू पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिता विपरीत भ्रामक र गलत सूचना फैल्याएर हाम्रो पार्टीलाई अवमूल्यन गर्ने प्रयास निरन्तर गरिरहेको छ । यस प्रकारको गतिविधिप्रति हाम्रो पार्टी कडा आपत्ति जनाउँदछ । हामी सबै सञ्चार माध्यमलाई पत्रकारिताको मूल्य,मान्यता तथा नैतिकता पालना गर्न हुन र निर्वाचन आयोगद्वारा तोकिएको आचारसंहिताको कडाइका साथ पालना गरिदिन आग्रह गर्दछौँ । यसका साथै नेपाल प्रेस काउन्सिललाई समेत आचारसंहिताको निष्पक्षरुपमा कडाइका साथ अनुगमन गर्न अपिल गर्दछौँ । यतिखेर देश संवेदनशील अवस्थामा छ । निर्वाचन बिथोल्न चाहने शक्तिहरू अहिले पनि क्रियाशील छन् ।’
नेता सापकोटाले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउने काममा विशेष जोड दिन सरकारलाई पनि सचेत गराए ।








