को हुन् रास्वपा तेह्रथुमका उम्मेदवार ई. सुरेन्द्र कार्की ?

काठमाडौँ । सुरेन्द्र कार्की पेसागत रूपमा सिभिल इन्जिनियर हुन् । वि.सं. २०५४ सालमा तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका सिम्लेमा जन्मिएका उनको प्रारम्भिक बाल्यकाल म्याङ्लुङ क्षेत्रमा बितेको हो ।

उत्कृष्ट शैक्षिक पृष्ठभूमि भएका कार्कीले वि.सं. २०६९ सालको एस.एल.सी. परीक्षामा जिल्ला टप गर्नुका साथै उनी त्यसबेलाका चर्चित रेकर्ड होल्डरसमेत रहेका थिए । उच्च शिक्षाको सन्दर्भमा उनी प्रतिष्ठित बुढानीलकण्ठ स्कुल, काठमाडौँका पूर्व विद्यार्थी हुन् । स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, उज्जवल थापा लगायतका राजनीतिक व्यक्तित्वहरू पनि यही विद्यालयका पूर्व विद्यार्थी हुन् ।

राजनीतिप्रतिको उनको बुझाइको आधारविन्दु भने आर.आर. क्याम्पसमा विद्यार्थीका रूपमा भर्ना भई गरेको अध्ययन हो । तथापि, राजनीतिप्रतिको गहिरो रुचि र इन्जिनियर परामर्शदाताको रूपमा विभिन्न प्रतिवेदनहरूमा काम गर्ने क्रममा संविधान र कानुनसँगको निकटता उनको व्यावहारिक राजनीतिक चेतनाको अर्को महत्त्वपूर्ण आधार बनेको छ । हाल उनी त्रिचन्द्र क्याम्पसमा स्नातकोत्तर तहमा अर्थशास्त्र विषयको औपचारिक शिक्षाको अन्तिम चरणमा छन् ।

पेसागत जीवनमा उनले भवन तथा सडक डिजाइन, खानेपानी वितरण योजना, तथा वातावरणीय अध्ययनसम्बन्धी विभिन्न प्रतिवेदनहरूमा कार्य गरिसकेका छन् । साथै, उनी कृषि विकास बैंकलगायत विभिन्न बैङ्कहरूमा मूल्याङ्कनकर्ता का रूपमा समेत अनुबन्धित छन् । आफ्नो ठाउँमा आफ्नै दक्षता प्रयोग हुनुपर्छ भन्ने ध्येयका साथ, काठमाडौँलाई मुख्य कार्यथलो बनाए पनि उनले बराबरी समय तेह्रथुममै बिताउने गरेका छन् ।

मृदुभाषी, नरम तर तार्किक स्वभाव, गहिरो स्व–अध्ययन र लेखन क्षमता तथा प्रभावकारी नेतृत्व उनका केही छुटाउनै नहुने गुणहरू हुन्, जसको उल्लेख उनका निकटतमहरूले गर्ने गर्दछन् ।

व्यक्तिगत तथा व्यावसायिक जीवनमा सफल मानिने कार्कीको भदौ २३ र २४ को घटनापछि ‘Aware Terhathum’ नामबाट नवयुवालाई एकत्रित गर्दै विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय सहभागितासँगै राजनीतिक उदय भएको हो ।

तेह्रथुममा सुरेन्द्र कार्कीलाई अहिले नयाँ पुस्ताको राजनीतिक विद्रोहको प्रतीकका रूपमा पनि हेरिन थालेको छ । उनकी आमा लक्ष्मी कार्की एमालेनिकट अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) की जिल्ला अध्यक्ष हुन् भने बुवा वीरेन्द्र कार्की एमालेनिकट व्यवसायी संघका जिल्ला अध्यक्ष रहेका छन् । एमाले वृत्तमा लक्ष्मी कार्कीलाई आगामी स्थानीय तह निर्वाचनमा म्याङ्लुङ नगरपालिकाको उपमेयर पदको सम्भावित उम्मेदवारका रूपमा समेत चर्चा गरिन्छ । छोरा सुरेन्द्रको उम्मेदवारीको घोषणासँगै दुवै जनाले नैतिक जिम्मेवारी बोध गर्दै स्वैच्छिक राजीनामा दिएका थिए ।

यस्तो राजनीतिक पृष्ठभूमिका बीच सुरेन्द्र कार्कीको फरक राजनीतिक यात्राले पुस्तान्तरण र विचारगत परिवर्तनबारे नयाँ प्रश्नहरू उठाएको छ । नयाँ पुस्ताले फरक राजनीतिक विकल्प रोज्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषय जिल्लामा बहसको रूपमा देखा परेको छ ।

उम्मेदवारी घोषणा गर्दै कार्कीले भने ‘यो निर्णय मैले व्यक्तिगत जीवनका सुविधा, चिन्ता र सुरक्षित दायराभन्दा माथि उठेर गरेको हुँ । यो उमेरमा तेह्रथुमको राजनीतिक पृष्ठभूमिमा आफ्नो ठाउँका लागि गर्न सकिने अधिकतम त्याग, जोखिम र साहस यही हो भन्नेमा म स्पष्ट छु ।’

आफ्नो पेसागत अनुभव, राजनीतिप्रतिको रुचि, विभिन्न प्रतिवेदनमा काम गर्दा संविधान र कानुनसँगको निकटता तथा अर्थशास्त्रको विद्यार्थीका रूपमा प्राप्त समष्टिगत दृष्टिकोणले आफूलाई तेह्रथुमको प्रभावकारी प्रतिनिधित्व गर्न सक्ने आत्मविश्वास दिएको कार्की बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =