गोरखामा कसैलाई सहयोग गरेका छैनौँः सुदन किराँती

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष मण्डलका सदस्य सुदन किराँतीले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोरखामा हालसम्म कुनैपनि पार्टीलाई सहयोग नगरेको स्पष्ट पारेका छन् ।
आईतवार पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक गर्ने क्रममा उनले गोरखामा कसैलाई समर्थन गर्ने विषयमा पार्टीले कुनै निर्णय नगरेको बताएका हुन् । पार्टीले गोरखा क्षेत्र नम्बर २ मा पार्टीका संरक्षक डा बाबुराम भट्टराई र क्षेत्र नम्बर १ मा गोपालबाबु श्रेष्ठलाई उम्मेद्वार बनाएको थियो ।
उनले उम्मेद्वारी फिर्ता लिएपछि गोरखामा पार्टीले कसैलाई सर्मथन गर्ने निर्णय नगरेको उनले जानकारी दिए । उनले पार्टीका उम्मेद्वारले किन उम्मेद्वारी फिर्ता लिएको भन्ने बारेमा जानकारी नभएको पनि उनले बताए ।
उनले पार्टीका संरक्षक भट्टराईसँग उम्मेद्वारी फिर्ता लिएको विषयमा सोधखोज पनि नगरेको जानकारी दिए । उनकाअनुसार उहाँ हाल व्यक्तिगत शोकमा रहेकाले गोरखा सम्बन्धी विषयमा विस्तृत छलफल हुन सकेको छैन । उनले डा.भट्टराईलाई आफूहरूले अभिभावकका रूपमा लिएको र अहिले अन्य राजनीतिक वृत्तमा पनि उहाँप्रति सकारात्मक दृष्टिकोण विकसित भइरहेको उल्लेख गरे ।
नेपालको भूराजनीतिक अवस्था जटिल र संवेदनशील रहेको उल्लेख गर्दै उनले सोही सन्दर्भमा दीर्घकालीन सोचका साथ डा. भट्टराईले निर्णय गरेको हुनसक्ने बताए ।
चुनावपछि यसबारेमा समिक्षा हुने उनले जानकारी दिए । उनले प्रलोपाले ८७ सिटमा उम्मेदारी दिएको र सबै स्थानमा जित हासिल गर्नेगरी अघि बढेको बताए ।
उनले स्थानीयस्तरमा कतिपय भिन्न विचार बोक्ने राजनितिक दलहरुसँग पनि चुनावी तालमेल गरिएको जानकारी दिए । स्थानिय आवश्यकताका आधारमा निर्वाचन जित्नको लागी कतिपय ठाउँमा गठबन्धन गरिएको उनको भनाई छ ।








