संयुक्त राष्ट्र संघका मिसन प्रमुखद्वारा विद्रोही नियन्त्रित गोमामा युद्धविराम अनुगमनबारे एम २३ नेताहरूसँग भेटवार्ता

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र संघको शान्ति मिसनका कार्यवाहक प्रमुख भिवियान भान डे पेरेले गोमामा मार्च २३ मुभमेन्ट विद्रोही समूहका नेताहरूसँग भेट गरी युद्धविराम अनुगमन संयन्त्रबारे छलफल गरे । सन् २०२५ को जनवरीमा विद्रोही समूहले गोमा शहर कब्जा गरेपछि सुरक्षा अवस्था बिग्रिएकै अवस्थामा भान डे पेरे हेलिकप्टरमार्फत त्यहाँ पुगेका हुन् ।

उनको यो भ्रमण क्षेत्रीय शान्ति संरचना अन्तर्गत परिकल्पना गरिएको युद्धविराम अनुगमन र प्रमाणीकरण संयन्त्रलाई सक्रिय बनाउने प्रयासको एक हिस्सा हो । विद्रोही समूहसँग आवद्ध राजनीतिक–सैनिक गठबन्धन कङ्गो रिभर एलायन्सका नेता कोर्नेइल नाङ्गासँगको वार्तापछि पेरेले दोहा प्रक्रिया अन्तर्गत हस्ताक्षर गरिएको सम्झौता बमोजिम युद्धविरामलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले मोनुस्कोले सुरक्षा परिषद्को प्रस्ताव २८०८ बमोजिम स्थायी युद्धविरामका लागि प्राविधिक र प्रमाणीकरण सहयोग उपलब्ध गराउने म्यान्डेट पाएको उल्लेख गरे । एम२३ का वरिष्ठ अधिकारी बेन्जामिन एमबोनिम्पाले संयुक्त राष्ट्र संघको भूमिकाको स्वागत गर्दै विद्रोही नियन्त्रित क्षेत्रमा राष्ट्र संघका कर्मचारीहरूलाई पूर्ण सुरक्षा दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैबीच, मध्यस्थकर्ता मुलुक अङ्गोलाले फेब्रुअरी १८ देखि लागू हुनेगरी प्रस्ताव गरेको युद्धविरामलाई कङ्गो सरकारले स्वीकार गरेको छ । यद्यपि एम२३ ले भने आफूहरूलाई यसबारे आधिकारिक जानकारी नभएको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =