इंग्ल्याण्डसँग भिड्नुअघि प्रधानमन्त्रीको ‘विजयी भवः’ आशीर्वाद !

काठमाडौं । आईसीसी टी-२० विश्वकपको समूह चरणअन्तर्गत आज नेपालले क्रिकेटको इंग्ल्याण्डको सामना गर्दैछ । तेस्रोपटक विश्वकपको मञ्चमा उभिएको नेपालका लागि यो खेल केवल अङ्क तालिकाको प्रतिस्पर्धा मात्र होइन, बरु विश्व क्रिकेटका महारथी देशहरूसँग आफ्नो अस्तित्व र क्षमता प्रमाणित गर्ने एउटा स्वर्णिम अवसर पनि हो ।

खेलको पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली टोलीलाई विशेष सन्देश पठाउँदै उच्च मनोबलका साथ मैदान उत्रन प्रेरित गरेकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले आज वानखेडेको मैदानमा राष्ट्रिय आत्मविश्वास, एकता र सामूहिक शक्तिको बेजोड प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकी छन् ।

‘आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ,’ प्रधानमन्त्रीले आफ्नो सन्देशमा लेखेकी छन्, ‘विश्वभर छरिएका लाखौँ नेपाली प्रशंसकहरूको प्रार्थना र विगतका सफलताको ऊर्जा बोकेर नेपाली टोलीले मैदानमा चमत्कार गर्नेमा हामी विश्वस्त छौँ ।’

प्रधानमन्त्री कार्कीले इंग्ल्याण्डसँगको यो ऐतिहासिक भेट नेपाली क्रिकेटको विकासमा कोसेढुङ्गा सावित हुने उल्लेख गर्दै सिंगो राष्ट्रका तर्फबाट टोलीलाई ‘विजयी भवः’ को आशिर्वाद र माया समेत प्रदान गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =