टी-२० विश्वकप : बलियो इंग्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ को रोमाञ्चक सुरुवातसँगै नेपाली क्रिकेट टोली आज आफ्नो पहिलो खेलमा विश्व क्रिकेटको महारथी इंग्ल्यान्डसँग भिड्दैछ । मुम्बईस्थित ऐतिहासिक वाङ्खडे स्टेडियममा हुने यो खेल नेपाली क्रिकेट इतिहासकै एक महत्वपूर्ण खुड्किलो बन्ने निश्चित छ, किनकि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डको सामना गर्दैछ ।
यसअघि शनिबार भएका उद्घाटन खेलहरूमा एसोसिएट टोलीहरूले टेस्ट राष्ट्रहरूलाई दिएको कडा टक्करले नेपाली टोलीको मनोबल थप उच्च बनाएको छ । नेदरल्यान्ड्स, स्कटल्यान्ड र अमेरिकाले क्रमशः पाकिस्तान, वेस्ट इन्डिज र भारतजस्ता बलिया टोलीविरुद्ध देखाएको जुझारु प्रदर्शनले जारी विश्वकपमा ‘अण्डर डग’ टोलीहरूको शक्ति प्रदर्शन गरिसकेका छन् ।
इतिहास रच्ने दाउमा नेपाल
नेपाली टोलीका अनुभवी पेस बलर सोमपाल कामीले प्रतियोगिता अघि नै इंग्ल्यान्डविरुद्ध ‘अपसेट’ गर्न सक्ने संकेत गरेका थिए । उनले भनेका थिए, ‘इंग्ल्यान्ड हरेक विश्वकपमा कुनै न कुनै अप्रत्याशित टोलीसँग स्तब्ध हुने गरेको छ, यसपटक त्यो टोली नेपाल हुन सक्छ ।’ आईसीसी वरीयताको तेस्रो स्थानमा रहेको इंग्ल्यान्डविरुद्धको जित वा सम्मानजनक प्रदर्शनले नेपालको सुपर-८ पुग्ने सपनालाई बलियो आधार प्रदान गर्नेछ ।
आफ्नो तेस्रो विश्वकप सहभागितामा नेपाल यसपटक समूह चरण पार गर्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ । समूह ‘सी’ मा रहेको नेपालले अर्को चरण प्रवेशका लागि कम्तीमा दुई खेल जित्नुपर्ने दबाब छ । यस्तोमा इंग्ल्यान्डविरुद्धको खेलको नतिजाले नेपाली टोलीको बाँकी यात्राको दिशा तय गर्नेछ ।
मुम्बईको वाङ्खडे मैदानको पिच तीव्र गतिका बलरहरूका लागि सहयोगी मानिन्छ । त्यसैले प्रशिक्षकले तीन पेसर- सोमपाल कामी, करण केसी र नन्दन यादवलाई मैदानमा उतार्ने सम्भावना बलियो छ । स्पिनतर्फ सन्दीप लामिछाने मुख्य हतियार हुनेछन् भने मिस्ट्री स्पिनर शेर मल्ललाई मौका दिएर इंग्लिस ब्याटरलाई अलमलमा पार्ने रणनीति नेपालले लिन सक्छ ।
ओपनिङको जिम्मेवारी कुशल भुर्तेल र आसिफ शेखको काँधमा हुनेछ भने मध्यक्रममा कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले इनिङ्स सम्हाल्ने अपेक्षा गरिएको छ ।
बलियो इंग्ल्यान्ड, उच्च सतर्कता
साविकको दबदबा कायम राख्न चाहने इंग्ल्यान्डले नेपालविरुद्ध कुनै कसर बाँकी नराख्ने संकेत दिइसकेको छ । कप्तान जस बट्लर र फिल साल्ट जस्ता विस्फोटक ब्याटर तथा जोफ्रा आर्चर जस्ता खतरनाक बलरले सुसज्जित इंग्ल्यान्डले शनिबार नै आफ्नो अन्तिम ११ सार्वजनिक गरिसकेको छ । इंग्लिस अलराउन्डर विल ज्याक्सले नेपाललाई कमजोर प्रतिद्वन्द्वी नमान्ने र खेललाई गम्भीरतापूर्वक लिने बताएका छन् ।
नेपालका लागि कुशल भुर्तेल ‘एक्स फ्याक्टर’ साबित हुन सक्छन् । वाङ्खडेको छोटो बाउन्ड्रीमा उनको आक्रामक ब्याटिङ नेपालका लागि निर्णायक हुन सक्छ । यता इंग्ल्यान्डका लागि बट्लर र साल्टको पावरप्ले ब्याटिङ र आदिल राशिदको स्पिन बलिङ नेपालका लागि मुख्य चुनौती बन्ने देखिन्छ । खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।








