नेपाली काँग्रेस: जन्मले जेठो, विचारले सधैँ नयाँ- प्रदीप पौडेल

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा नेपाली काँग्रेसले क्षेत्र नं। ५ मा ५०१ सदस्यीय विशाल निर्वाचन परिचालन र प्रचारप्रसार मूल समिति गठन गरेको छ । क्षेत्रीय सभापतिको नेतृत्वमा गठित यस समितिमा केन्द्रीय, प्रादेशिक र क्षेत्रीय तहका सबै संरचनाका सदस्यहरूको प्रतिनिधित्व रहेको छ । यो समितिको विस्तारसँगै अब काँग्रेसको प्रचार अभियानले तीव्र गति लिने बताइएको छ । काँग्रेसको मुख्य रणनीति नागरिकका बीचमा प्रस्ट र पारदर्शी ढंगले आफ्ना योजनाहरू पुर्याउन र प्रतिस्पर्धीहरूले फैलाएका भ्रमहरूलाई चिर्नु रहेको काँग्रेस महामन्त्री प्रदीप पौडेलले बताए ।

जन्मले जेठो, विचारले सधैँ नयाँ: नेपाली काँग्रेस

नेपाली काँग्रेसलाई ‘पुरानो पार्टी’ भनेर अप्रासङ्गिक बनाउन खोज्ने एउटा कृत्रिम भाष्य ९न्यारेटिभ० निर्माण गर्न खोजिएको बताए । तर पुरानो हुनुको अर्थ अनुभव र योगदानको कदर हुनु हो । नेपाली काँग्रेस नेपालको राजनीतिको ‘विश्वविद्यालय’ भएको उनको भनाइ छ । राणा शासनको अन्त्यदेखि, पञ्चायत विरुद्धको सङ्घर्ष र बहुदलवादको स्थापनासम्म काँग्रेसकै नेतृत्वदायी भूमिका छ ।

काँग्रेस जन्मका आधारमा जेठो होला, तर विचारका आधारमा यो सधैँ नयाँ र गतिशील छ । काँग्रेस विचार आयात गरेर लाद्ने नभई नेपाली समाजको आवश्यकता र चाहनाअनुसार एजेन्डाहरू निर्माण गर्ने पार्टी भएको बताए । बिपी कोइरालाले भन्नुभएझैँ परिवर्तित समाजको सारलाई बुझेर काँग्रेसले आफूलाई निरन्तर परिमार्जन गर्दै आएको काँग्रेस रहेको जिकिर गरे ।

रूपान्तरणको सङ्कल्प र नेतृत्वको स्पष्टता

उहाँकाअनुसार काँग्रेसले विगतका कमजोरीहरूलाई स्विकार्न ढिला गरेको छैन । नागरिकले काँग्रेस सच्चिनुपर्छ भनेर दिएको खबरदारीलाई आफूहरूले आत्मसात् गरेको महामन्त्री पौडेलको भनाइ छ । त्यसैले अहिले काँग्रेस रूपान्तरित काँग्रेसका रूपमा मतदाताका बीचमा आएको उल्लेख गर्नुभयो । यसपटकको विशेष पक्ष के हो भने, हामीले कसैको व्यक्तिगत घोषणाका आधारमा नभई पार्टीको संस्थागत निर्णयबाटै गगन थापालाई ‘भावी प्रधानमन्त्री’का रूपमा प्रस्तुत गरेको बताए । नेतृत्व परिवर्तनको जनचाहनालाई सम्बोधन गर्दै नीतिगत स्पष्टता र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाएर हामी अगाडि बढेको बताए ।

समृद्धिका १० एजेण्डा र सुशासनको मार्गचित्र

देशका लागि काँग्रेसले १० वटा मुख्य एजेन्डाहरू अघि सारेको बताए । काँग्रेसको प्राथमिकता केवल रोजगारीको सङ्ख्या मात्र नभई रोजगारी सिर्जना गर्ने ठोस प्रक्रियामा रहेको जिकिर गरे । कम्पनी दर्तादेखि अन्य प्रशासनिक काममा हुने झन्झटिलो प्रक्रियालाई अन्त्य गर्ने काँग्रेसको प्रतिबद्धता रहेको बताए ।

‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) मात्र होइन, स्वदेशमै भएकाहरूको क्षमता सदुपयोग हुन नसक्ने ‘ब्रेन वेस्ट’को समस्यालाई पनि हामी सम्बोधन गर्ने पनि बताए । भ्रष्टाचारको अन्त्य काँग्रेसको मूल सङ्कल्प भएको बताए ।

समन्वयकारी शक्ति र राजनीतिक परिपक्वता

नेपालको जटिल राजनीतिमा अतिवादीलाई जोड्ने र मध्यममार्गी धारमा ल्याउने समन्वयकारी क्षमता भएको एकमात्र दल नेपाली काँग्रेस भएको दाबी गरे । अतिवादी शक्तिहरू मात्र संसदमा पुग्दा देश अस्थिरतातर्फ जान सक्छ । त्यसैले संविधानको कार्यान्वयन र लोकतान्त्रिक संस्थागत विकासका लागि काँग्रेसको बहुमत आवश्यक रहेको बताए ।

सामरिक दृष्टिले महत्त्वपूर्ण भूमिलाई छिमेकीहरूको स्वार्थका लागि नभई नेपालको राष्ट्रिय हितका लागि प्रयोग गर्ने परिपक्वता काँग्रेससँग मात्र रहेको बताए ।

काठमाडौँ क्षेत्र नं.५ सँगको अटुट सम्बन्ध

उनले काठमाडौँ क्षेत्र नं. ५ बाटै आफ्नो राजनीतिक भविष्य देखेको बताए । आफू पार्टीको महामन्त्री भएको नाताले देशभरका सबैको माया पाएको बताए । तर आफ्नो मुख्य कार्यक्षेत्र यही भएको उहाँको जिकिर छ । कतिपयले आफूलाई बाहिरको उम्मेदवार भन्न खोजे पनि आफ्नो क्षेत्र काठमाडौँ ५ नै भएको र यहीँको माटोमा भिजेको मान्छे भएको उल्लेख गरे ।

काँग्रेसले निर्वाचन जितेपछि रिङरोड निर्माणको दबाब, मेलम्चीको खानेपानी पाइपलाइन विस्तार, विष्णुमती कोरिडोर र सार्वजनिक जग्गा संरक्षणमा निरन्तर पैरवी गरेका बताए । आफू स्वास्थ्य मन्त्री हुँदा होस् वा अहिले, मैले सधैँ सरल र सेवामुखी राजनीतिलाई प्राथमिकता दिएको बताए । राजनीति मेरा लागि समाजसेवा हो र यो सधैँ पद ओगट्नका लागि होइन, परिणाम देखाउनका लागि हुनुपर्ने बताए ।

मतदातासँगको सानिध्य

काँग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको र अबको लडाइँ काँग्रेसलाई बहुमतको पार्टी बनाउने लडाइँ भएको बताए । काँग्रेसका प्रत्येक सक्रिय सदस्यहरू मतदाताका घरदैलोमा पुग्नुपर्ने र सबै उम्मेदवार हौँ भन्ने भावनाका साथ कार्यविभाजन गरेर मतदातालाई काँग्रेसको एजेण्डा बुझाउनुपर्ने बताए ।

डिजिटल कनेक्टिभिटी र व्यक्तिगत सम्पर्कलाई प्रभावकारी बनाउँदै यो निर्वाचनमा ऐतिहासिक सफलता हासिल गर्ने बताए । सचेत र प्रबुद्ध मतदाताको साथले काँग्रेसको विजय सुनिश्चित रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =