चुनाव जित्न पार्टी एकता अनिवार्य, ललितपुरमा २०७० को लहर दोहोरिन्छ : प्रेमकृष्ण महर्जन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं ललितपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार प्रेमकृष्ण महर्जनले आगामी वैशाख २१ गते हुने निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न आन्तरिक एकता नै मुख्य बल भएको बताए । ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महर्जनले अन्य कुराहरूलाई थाँती राखेर सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्न आग्रह गरे ।

उनले पार्टीभित्र बलियो एकता कायम हुन सके कांग्रेसले विगतको जस्तै शानदार सफलता हासिल गर्ने दाबी गरे । उनले पार्टीका नेताहरू र महामन्त्री गगन थापाबीच भइरहेको संवादले देशभर सकारात्मक सन्देश प्रवाह गरेको र यसले कार्यकर्तामा उत्साह थपेको उल्लेख गरे । कार्यकर्ताहरूलाई चुनावी अभियानमा सक्रिय हुन निर्देशन दिँदै उनले माहोल आउँदैमा निर्वाचन नजितिने बताए । हरेक वडा र इकाइका साथीहरू घर–घर पुग्नुपर्ने र प्रत्येक मतदातालाई भेट्नुपर्ने बताए । मतदाताको मन जित्न सके ललितपुरका १, २ र ३ नम्बर क्षेत्रमा कांग्रेसको जित सुनिश्चित रहेको बताए । आफ्नो उम्मेदवारी र विकासका योजनाबारे चर्चा गर्दै महर्जनले ललितपुर महानगरपालिकाका मेयर र प्रदेश माननीयहरूले गरेका काम नै आफ्नो जितको मुख्य आधार भएको बताए ।

महर्जनले भने, ‘२०४८ सालमा कांग्रेसले बहुमत प्राप्त गर्दा होस् वा २०५६ सालमा किसुनजीलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिँदा, एकताकै कारण हामी सफल भएका थियौँ । २०७० सालमा पनि पार्टी एकढिक्का हुँदा हामीले बहुमत हासिल गर्यौँ । अहिले फेरि देशभर र विशेषगरी ललितपुरमा २०७० सालकै जस्तो लहर आएको छ ।’

आफूलाई पार्टीको एउटा इमानदार ‘सिपाही’ को रूपमा चित्रण गर्दै महर्जनले वरिष्ठ नेताहरूको सद्भाव र कार्यकर्ताको भरोसामा आफू अगाडि बढेको बताए । उनले भोलि जिम्मेवारी पाउँदा मतदाता र कार्यकर्ताको शिर उच्च राख्ने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =