संघीय संसद भवनको निर्माण कार्य चैत्र पहिलो हप्ताभित्र सक्न सम्बन्धित पक्षलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैत्रको पहिलो हप्ताभित्र संघीय संसद भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
शुक्रवार सिंहदरवारस्थित कार्यकक्षमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र निर्माण कार्यमा सम्पन्न सम्बन्धित पक्षलाई बोलाएर उनले सो निर्देशन दिएका हुन् ।
नयाँ संसद भवनबाटै प्रतिनिधिसभा र राष्ट्रिय सभा सञ्चालन गर्नेगरी कुनैपनि अवरोध नहुने गरी काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई अध्यक्ष दाहालले निर्देशन दिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
त्यसक्रममा शहरी विकास मन्त्रालयका सचिव सिग्देलले अध्यक्ष दाहाललाई संसद भवनको निर्माण कार्य करिब ९२ प्रतिशत सकिएको र बाँकी काम पूरा गरी चैत्रको पहिलो हप्ता निर्माण कार्य सम्पन्न गर्न सकिने व्रिफिङ गरेका थिए ।
यता, अध्यक्ष दाहालले भने सोही समयमा सक्नेगरी कार्य सम्पन्न गर्नका लागि नियमित अनुगमन गर्न संसद सचिवालयलाई सचेतसमेत गराए । उनले सो कार्यको प्रगति विवरण हप्ता हप्ता दिनमा संघीय संसद सचिवालयका गराउन पनि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको संघीय संसद सचिवालयका प्रवक्ता गिरीले बताए ।
उनले भने, ‘अब बाँकी भएका कामहरूलाई एकदम शिघ्रताका साथ कुनैपनि कारणबाट अवरुद्ध नहुने गरी समयमा नै निर्माण सम्पन्न गर्न सम्माननीय अध्यक्षज्युले निर्देश पनि गर्नुभएको छ । साथसाथै प्राविधिक पक्षहरूको स्टोलेशन गर्दै विभिन्न पक्षहरूमा सचिवालयका अन्य प्राविधिक जनशक्तिहरूले पनि सो काममा गएर हेर्ने, बुझ्ने अनि त्यो सम्बन्धी क्षमता अभिवृद्धि गर्ने लगायतका विषयहरूमा पनि कुराकानी भएको छ । र, नियमित रूपमा खासगरी हरेक हप्ता भएका कार्यप्रगतिको जानकारी सचिवालयलाई गराउने र सचिवालयले पनि आगामी दिनमा नियमित रूपमा स्थलगत अवलोकन गर्ने भन्ने कुराहरू भएको छ ।’
फागुन २१ को निर्वाचनपछि नयाँ संसद भवन सिंहदरवारबाटै प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक शुरु गर्ने संसद सचिवालयको तयारी छ ।
सोहीअनुसार प्रतिनिधि सभाको बैठक कक्ष र राष्ट्रिय सभाको बैठक कक्षको निर्माणमा बढी जोड दिएर अघि बढ्नेगरी काम गर्न अध्यक्ष दाहालले सहरी विकास मन्त्रालय र निर्माण कार्यमा संलग्न पक्षहरूलाई सचेत गराएका हुन् ।
संघीय संसद सचिवालयले चैत्रको पहिलो हप्ता सो भवनको निर्माण कार्य सम्पन्न हुने र सोही ठाउँबाट संसद बैठक शुरु हुनेमा विश्वास गरिएको पनि संघीय संसद सचिवालयले जनाएको छ ।








