ट्वान्टी-२० विश्वकपका लागि नेपाल तयार, अभ्यास खेलमा शतप्रतिशत नतिजाले उत्साह

काठमाडौं । शनिबारदेखि सुरु हुने आईसीसी ट्वान्टी-२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली तयार भएको छ । प्रतियोगिता अगाडिको अन्तिम अभ्यास खेलमा बिहीबार क्यानडालाई ६ विकेटले सहजै पराजित गरेसँगै नेपालले आफ्नो तयारी बलियो रहेको प्रमाणित गरेको हो ।
आधिकारिक दुवै अभ्यास खेलमा जित हात पारेको नेपालले यसअघि मंगलबार भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले स्तब्ध पारेको थियो । लगातारका यी जितले विश्वकपको समूह चरणमा बलिया प्रतिद्वन्द्वीको सामना गर्न नेपाली खेलाडीहरूको मनोबल उच्च बनाएको छ ।
चेन्नईको चेपक रङ्गशालामा क्यानडाले दिएको १ सय ६२ रनको लक्ष्यलाई नेपालले २ ओभर बाँकी छँदै मात्र ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा माथिल्लो क्रमका ब्याटरहरूको प्रदर्शन लोभलाग्दो रह्यो । ओपनर आसिफ शेखले २९ बलमा ५८ रनको विष्फोटक अर्धशतकीय इनिङ्स खेले भने सन्दीप जोराले ३० बलमा ४४ रनको योगदान दिए । यी दुईबीच दोस्रो विकेटका लागि भएको ८४ रनको साझेदारी नै जितको आधार बन्यो ।
यस्तै, मध्यक्रममा गुलशन झाले २५ बलमा अविजित ३१ रन जोड्दै नेपाललाई जितसम्म डोर्याए । बलिङतर्फ स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा मात्र १४ रन खर्चेर २ विकेट लिँदै आफ्नो लय समातेका छन् । कुशल भुर्तेलले पनि २ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले १–१ विकेट झार्दै क्यानडालाई मध्यम स्कोरमा रोकेका थिए ।
दुई वर्षअघि अमेरिकामा भएको अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको नेपालले यसपटक सानदार बदला लिएको छ । कप्तान रोहित पौडेल ‘क्याप्टेन्स डे’ का लागि मुम्बईमा रहेकाले यस खेलमा टोलीको नेतृत्व उपकप्तान दीपेन्द्रसिंह ऐरीले गरेका थिए । नेतृत्व परिवर्तन भए पनि टोलीको प्रदर्शनमा देखिएको एकरुपताले नेपालको ‘बेन्च स्ट्रेन्थ’ र रणनीतिक तयारी मजबुत रहेको देखाउँछ ।
अभ्यास खेलको सुखद अन्त्यसँगै नेपाली टोली शुक्रबार चेन्नईबाट मुम्बई प्रस्थान गर्नेछ । विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आगामी आइतबार बलियो मानिएको टोली इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै ऐतिहासिक यात्राको सुरुवात गर्नेछ ।
पछिल्ला दुई अभ्यास खेलको नतिजा र खेलाडीहरूको लयलाई हेर्दा नेपालले यसपटक विश्वकपमा सरप्राइज नतिजा निकाल्ने अपेक्षा गरिएको छ । क्यानडाले भने सोमबार दक्षिण अफ्रिकाविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्ने तालिका छ ।








