परम्परागत तथा मौलिक सम्पदाको संरक्षण गर्न आवश्यकः पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अनिलकुमार सिन्हाले नेपालका परम्परागत तथा मौलिक सम्पदाको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।

बुधवार विधायन व्यवस्थापन समितिको बैठकमा भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण)सम्बन्धी विधेयकको छलफलमा उनले यस्तो बताएका हुन् ।

मन्त्री सिन्हाले नेपालमा चलिआएका साँस्कृतिक सम्पदा, कला, संस्कृति लगायतको संरक्षण र अघिल्लो पुस्तालाई हस्तान्तरण गर्नको लागि यो विधेयक ल्याइएको जानकारी दिए ।

विधेयकले नेपालमा बसोवास गर्ने नेपाली समुदायले आफ्नो सांस्कृतिक सम्पदाको अभिन्न अङ्गका रूपमा स्वीकार गरी परम्परागत रूपमा अभ्यास र पुस्तान्तरण गर्दै आएका अभ्यासहरूलाई समेट्ने बताए ।

उनकाअनुसार विधेयकले पुस्तौंदेखि बोलिँदै र सुनिँदै आएका परम्परागत ज्ञान, अभिनय तथा मञ्चन कला, सामाजिक अभ्यास, प्राकृतिक स्रोतको उपयोगमार्फत गरिने उपचार पद्धति, ज्योतिष तथा खगोल विज्ञान, पर्यावरणीय ज्ञानलगायत विविध प्रकारका परम्परागत ज्ञान र सीपलाई समावेश गर्ने लक्ष्य राखेको छ । साथै, कलात्मक सामग्रीहरूको उत्पादन र प्रयोगसमेत यस विधेयकको दायराभित्र राखिएको उहाँले जानकारी दिए ।

सम्पदाको निर्वाध अभ्यास र अभिव्यक्ति गर्ने अधिकार, सांस्कृतिक अभ्यासका लागि प्रयोग हुने स्थान, वस्तु र संरचनाको संरक्षण, सम्पदाको गोपनीयता कायम गर्ने व्यवस्था, अभिलेखीकरण, व्यवसायिक उपयोगको स्वतन्त्रता तथा अध्ययन, अनुसन्धान, अनुवाद, सम्पादन र पुस्तान्तरण गर्ने अधिकार विधेयकमा समावेश गरिएको उनले बताए ।

उहाँले अन्तर्राष्ट्रिय प्रतिवद्धताका कारण पनि विधेयक आवश्यक भएको उल्लेख गरे । नेपालले सन् १९७६ मा सांस्कृतिक सम्पदाको अवैध आयात–निर्यात तथा स्वामित्व हस्तान्तरणसम्बन्धी महासन्धी १९७० लाई अनुमोदन गरेको र सन् २०१० मा अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धी २००३ लाई अनुमोदन गरेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + thirteen =