काठमाडौँको योजना दिगो विकास केन्द्रित हुनुपर्छ : मन्त्री चौलागाईं

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले काठमाडौँ सहरको योजना बनाउँदा यसको ऐतिहासिक, सांस्कृतिक र पारिस्थितिक विशेषतालाई विस्तृत रूपमा अध्ययन गरी दिगो विकास केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् ।

आज काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजनामाथि सरोकार भएका निकाहरूबिच भएको गोष्ठीमा उनले जीवन्त र सांस्कृतिक महत्त्व बोकेको काठमाडौँ उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायातको आवश्यकता रहेको उल्लेख गरे ।

मन्त्री चौलागाईंले काठमाडौँ अन्य नयाँ सहरजस्तो नभएकाले एउटै ढाँचाको योजना लागू गर्न नसकिने धारणा राखे । उनले काठमाडौँ शताब्दीऔँ पुराना परम्परा, संस्कृति र आधुनिकताको सुन्दर समिश्रणका रूपमा स्थापित सहर हो भने ।

‘काठमाडौँ एउटा ऐतिहासिक सहर हो । यहाँ इतिहास र आफ्नै परम्परा छ, पारिस्थितिक प्रणाली र विविध जीवनशैलीको सङ्गम छ’, उनले भने, ‘सहरको योजना बनाउँदा यही आत्मा र सूक्ष्मता योजनामा प्रतिविम्बित हुनुपर्छ ।’

मन्त्री चौलागाईंले आधुनिक र प्राविधिक समाधान अपनाउँदा पनि सांस्कृतिक सम्पदा, ऐतिहासिकस्थल र ‘जनताको सहर’ भन्ने अवधारणा जोगाउनुपर्नेमा जोड दिए । सरकारको लक्ष्य सवारी केन्द्रितभन्दा मानव केन्द्रित सहर निर्माण गर्ने रहेको उनको भनाइ छ ।

मन्त्री चौलागाईंले योजना निर्माणका क्रममा मन्त्रालय र सरोकार भएका निकायका प्रतिनिधिबीच समन्वय नहुँदा कार्यान्वयनको चरणमा द्वन्द्व उत्पन्न हुनेसक्ने समस्या औँल्याए । ‘योजनाकार, इञ्जिनियर र संरक्षणविद्बीच संवाद हुँदैन’, उनले भने, ‘त्यसैले प्रभावकारी योजना कार्यान्वयनका लागि सुरुदेखि सबै सरोकार भएका निकायबीच समन्वय आवश्यक छ ।’

नयाँ सरकार गठनपछि करिब दुई महिनादेखि सक्रिय रूपमा काम भइरहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगलाई राष्ट्रिय हितमा प्रभावकारी रूपमा प्रयोग गर्दै लग्नुपर्ने आवश्यक औँल्याए । यस सन्दर्भमा मन्त्री चौलागाईंले नेपाल–जापान सहकार्य बहुआयामिक र दीर्घकालीन रहेको उल्लेख गरे ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइँदै गरेको स्मरण गर्दै मन्त्री चौलागाईंले जापानबाट प्रविधि, विचार र विशेषज्ञता प्राप्त भइरहेको बताए । ‘यो सहकार्य एकतर्फी होइन, ज्ञान र अनुभवको आदानप्रदान हो’, उनले भने ।

उनले रणनीतिक वातावरणीय मूल्याङ्कन (एसइए) सम्बन्धी पहल भविष्यका योजनाका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे । प्रक्रियालाई अनावश्यक रूपमा जटिल नबनाउन आग्रह गर्दै उनले प्रक्रिया सरल, स्पष्ट र व्यवहारमैत्री हुनुपर्नेमा जोड दिए ।

मन्त्री चौलागाईंले एउटै नीति सबैका लागि उपयुक्त नहुने भन्दै लक्षित र सन्दर्भअनुसारका रणनीति आवश्यक रहेको बताए । ‘काठमाडौँमा बनाइएको नीति जस्ताकोतस्तै देशभर लागू गर्दा अधिकांश योजना असफल भएका छन्’, उनले भने, ‘भूगोल, संस्कृति र जीवनशैलीअनुसार फरक योजना भएमा समाधान सम्भव हुन्छ ।’

मन्त्री चौलागाईंले स्थानीय ज्ञान र अभ्यासलाई नीति निर्माणमा समेट्नुपर्नेमा जोड दिए । ‘विविधतालाई समाधानको आधारका रूपमा बुझ्न सके मात्र न्यायपूर्ण र दिगो विकास सम्भव हुन्छ’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =